२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विस्थापितलाई एकीकृत बस्ती

८ फाल्गुन २०७५, बुधबार ०९:४७

फागुन ८, बागलुङ | भूकम्पको असरले जोखिममा परेको काठेखोला गाउँपालिका–५, बिहुँको काउले बस्ती स्थानान्तरण हुने भएको छ । काउले नजिकै सापकोटाचोकमा एकीकृत बस्ती निर्माणको प्रक्रिया अघि बढेको हो । 

गत असारको भीषण वर्षाले गाउँ नै भासिएपछि काउलेका १४ परिवार विस्थापित बनेका थिए । जग्गा व्यवस्थापन भएपछि एकीकृत बस्ती निर्माणको टुङ्गो लागेको हो । गाउँपालिका, वडा कार्यालय र विस्थापित परिवार लामो समयदेखि जग्गाको खोजीमा थिए । 

जग्गा नहुँदा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट अनुदान प्रक्रिया शुरु हुन सकेको थिएन । “जग्गा व्यस्थापन भएको छ”, वडाध्यक्ष शिव कँडेलले भन्नुभयो, “आवश्यक कागजात प्राधिकरणमा पठाउँदै छौँ ।” उहाँका अनुसार वडा कार्यालयको पहलमा रु ३३ लाखमा ११ रोपनी जग्गा खरीद गरिएको छ । चौध परिवारमध्ये केहीले पहिले नै अनुदान लिएर घर बनाइसकेको र केही भाडामा बसेको हुँदा १० परिवारमात्र लाभग्राहीमा समेटिने भएका छन् । 

एकीकृत बस्ती निर्माणको लागि प्राधिकरणले जग्गा व्यवस्थापनमा प्रतिपरिवार रु दुई लाख उपलब्ध गराउने व्यवस्था छ । यस्तै, बस्तीमा खानेपानी, बिजुलीजस्ता पूर्वाधार निर्माणमा प्रतिपरिवार रु चार लाख र घर निर्माणका लागि रु तीन लाख अनुदान उपलब्ध गराइनेछ । 

एकीकृत बस्तीले मात्र पूर्वाधार निर्माणको अनुदान पाउने प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त प्रमुख इञ्जिनीयर रामाशिष साहले बताउनुभयो । “जग्गा भएपछि अब अनुदानको प्रक्रिया अघि बढ्छ”, निमित्त प्रमुख साहले भन्नुभयो, “केन्द्रबाट छनोट र स्वीकृत भएपछि बल्ल अनुदान आउँछ ।” प्राविधिकलगायत सबै हिसाबले उपयुक्त ठहरिएको जग्गामा मात्र एकीकृत बस्ती बसाल्ने प्राधिकरणको नीति छ । 

प्राप्त भएको जग्गाको स्वामित्व, साँध, सिमाना, लालपुर्जा केहीमा पनि विवाद नरहेको वडाध्यक्ष कँडेलको भनाइ छ । उहाँले अनुदान रकमले नपुग्ने अवस्थामा बाँकी रहेको जग्गा बेचबिखन गर्न सकिने उल्लेख गर्नुभयो । एकीकृत बस्तीका लागि प्रतिपरिवार न्यूनतम छ आना जग्गा हुनुपर्ने व्यवस्था छ । प्राधिकरणले अनुदान स्वीकृत गरेपछि एक वर्षभित्रै एकीकृत बस्ती निर्माण हुने जनाइएको छ । बस्तीमा एकै किसिमका एकतले घर बन्नेछन् । 

जग्गा भेटिएपछि घर निर्माणको आशा पलाएको विस्थापित बसीमाया परियारले बताउनुभयो । “घरबास गुमाएको वर्ष दिन हुन लाग्यो”, उहाँले भन्नुभयो, “छिटो बस्ती निर्माण होस्, अरुको आश्रयमा बस्दा हामीलाई दुःख छ ।” 

दलित परिवारको बसोबास रहेको काउले गाउँका घर भूकम्पपछि सामान्य चर्किएका मात्र थिए । बस्ती नै उठीबास लाग्ला भन्ने गाउँलेले सोचेकासम्म थिएनन् तर, गएको वर्षायाममा सिङ्गै गाउँको जमीन चर्किने, भासिने गर्न थालेपछि स्थानीयवासी विस्थापित बनेका हुन् । 

विस्थापित सबै परिवार अहिले पनि छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । कतिले मासिक भाडासमेत तिर्नुपर्ने अवस्था छ । दैनिक ज्याला, मजदूरी गरेर जीविका धान्ने परिवारलाई विस्थापनले झन कष्ट थपेको छ । 

राज्यले पुनःस्थापनामा सघाउनु पर्ने उनीहरुको माग छ । विस्थापितको राहत र पुनःस्थापनाका लागि बिहुँकोट समाज जापान र गुल्मी समाज जापानले केही आर्थिक सहयोगसमेत जुटाएका छन् । काठेखोला गाउँपालिकाले पनि एकीकृत बस्ती निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै