२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

रुपाकोटमा भ्यू टावर बनाउन शुरु

२०७६, २८ जेष्ठ मंगलवार ०७:१९

जेठ २८, खोटाङ । खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो । 

समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजनामा राखिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा परेको ‘मुन्धुम ट्रेल’ पदमार्गमा पर्ने सो टावरका लागि नगरपालिकाले यस वर्ष रु २७ लाख बजेट विनियोजन गरेको थियो । 

गत वैशाख १६ गतेबाट निर्माण शुरु गरिएको टावर निर्माणको पहिलो चरणको काम करीब ९० प्रतिशत सकिएको निर्माण उपभोक्ता समितिका उपाध्यक्ष सप्तमणि राईले बताउनुभयो । “रुपाकोटस्थित गढीडाँडामा निर्माण शुरु गरिएको भ्यू टावरमा छानो हाल्ने र रङरोगन गर्ने काम बाँकी छ”, उहाँले भन्नुभयो, “पहिलो चरणको काम आगामी असार दोस्रो साताभित्र सम्पन्न गर्ने योजना बनाएका छौँ ।”

सूर्योदय र सूर्यास्त दुवैको दृश्य अवलोकन गर्न सकिने पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावरसँगै प्राकृतिक बगैँचा, वनभोजस्थल, कृत्रिम पोखरी निर्माणलगायत भौतिक विकासका काम गरिने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “रुपाकोट प्राकृतिक हिसाबले नमूना पर्यटकीयस्थलका रुपमा रहेको छ”, उहाँले भन्नुभयो । 

रुपाकोटमा निर्माणाधीन भ्यू टावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमाली शृङ्खला तथा तराईका विभिन्न जिल्लामा रहेको फाँटहरुको दृश्य अवलोकन गर्न सकिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि करीब तीन घण्टा पैदल उकालो चढेपछि रमणीयस्थल रुपाकोट पुगिन्छ । 

ढुङ्गे बाटो पछ्याउँदै उकालो चढेपछि पुगिने रुपाकोटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक दिनानुदिन बढ्दै गएको छ । चारैतिर घना जङ्गलको बीचमा रहेको सो क्षेत्रमा विशेषगरी नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

ठूला–ठूला घाँसेमैदान रहेको यहाँ वर्षको अन्तिम दिन अर्थात् चैत मसान्तको दिन आउने र रातभरि जाग्राम बसेर पुरानो वर्षलाई बिदा गर्ने तथा नयाँ वर्षको स्वागत गर्ने प्रचलन छ । रातको १२ बजे वर्षलाई बिदा गरिन्छ । त्यतिखेर वर्षभरि गरेका राम्रा कुराको अनुसरण गर्ने र नराम्रा कुरालाई सधैँका लागि बिदा गर्ने चलन छ । 

नयाँ वर्षको स्वागत १२ बजेदेखि नै शुरु गरिन्छ । बिहान सूर्योदयको स्वागतपछि विभिन्न परिकार खाने चलन छ । सूर्योदयको बेला वर्षभरि शुभ रहोस् भन्ने कामना गर्दै नयाँ कामको थालनी गर्ने अठोट गरिन्छ । रुपाकोट क्षेत्रमा गडी, सिद्ध पोखरी, सिद्ध बाबाको मन्दिर, ठूलो आहाल, सानो आहालका साथै ठूला–ठूला चउरहरु रहेका छन् । रुपाकोटको बीच भागमा रहेको सिद्ध बाबाको कुटीमा पूजा आराधना गरे चिताएको पुग्ने जनविश्वास रहिआएको छ ।

योगीको कुटी नामले परिचित उक्त ठाउँमा विशेषगरी वैशाखे पूर्णिमाको दिन लामा तथा स्थानीयवासीले असिना, भलपहिरो र आँधीबेहरी नचलोस् भनेर कामना गर्ने प्रचलन छ । उक्त कुटीमा जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्ने लामाहरु भेला भएर ज्ञान प्राप्तिका लागि दिनभर ध्यान गर्छन् ।

उक्त ठाउँ लोपोन्मुख वन्यजन्तु पाइने स्थान, भेडीगोठ तथा पशुपालन, विभिन्न प्रकारका गुराँसका साथै जडीबुटीका लागि पनि प्रसिद्ध मानिन्छ । घोरल, मृग, खरायो, राजपङ्खी, थार, सालकलगायतका वन्यजन्तु तथा डाँफे/मुनाल, हुचिल, कालिज, प्युरालगायत विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । 

रुपाकोटदेखि साप्सुढाप–मेरुङ–मैयुङ हुँदै सालपा पोखरी (सिलिचुङ)सम्मको पदमार्ग निर्माणका लागि पर्यटन मन्त्रालयमा पहल भइरहेको सांसद विशाल भट्टराईले बताउनुभयो । अधिकांश भूभाग नगरपालिका–११ खार्मीमा पर्ने रुपाकोट सिङ्गो जिल्लाकै पानीको स्रोत भएका ठाउँ पनि हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन