२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

रुपाकोटमा भ्यू टावर बनाउन शुरु

२८ जेष्ठ २०७६, मंगलवार ०७:१९

जेठ २८, खोटाङ । खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो । 

समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको क्रमागत योजनामा राखिएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पदमार्गमा परेको ‘मुन्धुम ट्रेल’ पदमार्गमा पर्ने सो टावरका लागि नगरपालिकाले यस वर्ष रु २७ लाख बजेट विनियोजन गरेको थियो । 

गत वैशाख १६ गतेबाट निर्माण शुरु गरिएको टावर निर्माणको पहिलो चरणको काम करीब ९० प्रतिशत सकिएको निर्माण उपभोक्ता समितिका उपाध्यक्ष सप्तमणि राईले बताउनुभयो । “रुपाकोटस्थित गढीडाँडामा निर्माण शुरु गरिएको भ्यू टावरमा छानो हाल्ने र रङरोगन गर्ने काम बाँकी छ”, उहाँले भन्नुभयो, “पहिलो चरणको काम आगामी असार दोस्रो साताभित्र सम्पन्न गर्ने योजना बनाएका छौँ ।”

सूर्योदय र सूर्यास्त दुवैको दृश्य अवलोकन गर्न सकिने पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावरसँगै प्राकृतिक बगैँचा, वनभोजस्थल, कृत्रिम पोखरी निर्माणलगायत भौतिक विकासका काम गरिने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “रुपाकोट प्राकृतिक हिसाबले नमूना पर्यटकीयस्थलका रुपमा रहेको छ”, उहाँले भन्नुभयो । 

रुपाकोटमा निर्माणाधीन भ्यू टावरबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमाली शृङ्खला तथा तराईका विभिन्न जिल्लामा रहेको फाँटहरुको दृश्य अवलोकन गर्न सकिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि करीब तीन घण्टा पैदल उकालो चढेपछि रमणीयस्थल रुपाकोट पुगिन्छ । 

ढुङ्गे बाटो पछ्याउँदै उकालो चढेपछि पुगिने रुपाकोटमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक दिनानुदिन बढ्दै गएको छ । चारैतिर घना जङ्गलको बीचमा रहेको सो क्षेत्रमा विशेषगरी नयाँ वर्ष मनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

ठूला–ठूला घाँसेमैदान रहेको यहाँ वर्षको अन्तिम दिन अर्थात् चैत मसान्तको दिन आउने र रातभरि जाग्राम बसेर पुरानो वर्षलाई बिदा गर्ने तथा नयाँ वर्षको स्वागत गर्ने प्रचलन छ । रातको १२ बजे वर्षलाई बिदा गरिन्छ । त्यतिखेर वर्षभरि गरेका राम्रा कुराको अनुसरण गर्ने र नराम्रा कुरालाई सधैँका लागि बिदा गर्ने चलन छ । 

नयाँ वर्षको स्वागत १२ बजेदेखि नै शुरु गरिन्छ । बिहान सूर्योदयको स्वागतपछि विभिन्न परिकार खाने चलन छ । सूर्योदयको बेला वर्षभरि शुभ रहोस् भन्ने कामना गर्दै नयाँ कामको थालनी गर्ने अठोट गरिन्छ । रुपाकोट क्षेत्रमा गडी, सिद्ध पोखरी, सिद्ध बाबाको मन्दिर, ठूलो आहाल, सानो आहालका साथै ठूला–ठूला चउरहरु रहेका छन् । रुपाकोटको बीच भागमा रहेको सिद्ध बाबाको कुटीमा पूजा आराधना गरे चिताएको पुग्ने जनविश्वास रहिआएको छ ।

योगीको कुटी नामले परिचित उक्त ठाउँमा विशेषगरी वैशाखे पूर्णिमाको दिन लामा तथा स्थानीयवासीले असिना, भलपहिरो र आँधीबेहरी नचलोस् भनेर कामना गर्ने प्रचलन छ । उक्त कुटीमा जिल्लाका विभिन्न क्षेत्रमा बसोबास गर्ने लामाहरु भेला भएर ज्ञान प्राप्तिका लागि दिनभर ध्यान गर्छन् ।

उक्त ठाउँ लोपोन्मुख वन्यजन्तु पाइने स्थान, भेडीगोठ तथा पशुपालन, विभिन्न प्रकारका गुराँसका साथै जडीबुटीका लागि पनि प्रसिद्ध मानिन्छ । घोरल, मृग, खरायो, राजपङ्खी, थार, सालकलगायतका वन्यजन्तु तथा डाँफे/मुनाल, हुचिल, कालिज, प्युरालगायत विभिन्न प्रजातिका चराचुरुङ्गी देख्न पाइन्छ । 

रुपाकोटदेखि साप्सुढाप–मेरुङ–मैयुङ हुँदै सालपा पोखरी (सिलिचुङ)सम्मको पदमार्ग निर्माणका लागि पर्यटन मन्त्रालयमा पहल भइरहेको सांसद विशाल भट्टराईले बताउनुभयो । अधिकांश भूभाग नगरपालिका–११ खार्मीमा पर्ने रुपाकोट सिङ्गो जिल्लाकै पानीको स्रोत भएका ठाउँ पनि हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य