चितवनमा चोरीको २६ मोटरसाइकलसहित चार जना पक्राउ

Posted on: 29 Jun, 2019

असार १४, रत्ननगर । जिल्ला प्रहरी कार्यालय चितवनले चोरीका २६ मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई आज भरतपुर महानगरपालिका वडा नं २० शारदानगर रानीपोखरीस्थित रोहित मोटरसाइकल वर्कशपबाट पक्राउ गरेको हो । उनीहरु लामो समयदेखि देशका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ ।

पक्राउपर्नेमा चितवनका रोहित श्रेष्ठ, बाराका कृष्ण शाह र महावीर चौधरी तथा भारतीय नागरिक राजा कुमार रहेका छन् । प्रहरीले वर्कशपबाट २६ वटा विभिन्न कम्पनीका मोटरसाइकल, इञ्जिन नभएका च्यासिस आठ थान, विभिन्न व्यक्तिका नाममा रहेका ५३ थान ब्लुबुकसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । 

श्रेष्ठले चितवनका पुराना र नयाँ घुमुवा प्रहरीदेखि गुण्डा नाइकेसम्म सेटिङ मिलाएर मोटरसाइकलको अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सेनाले एकै दिनमा रोप्यो ३८ हजार बिरुवा

नेपाली सेनाले आज एकै दिन करीब ३८ हजार बिरुवा रोपेको छ । नेपाली सेनाले यही वर्षायामभित्रै मुलुकका विभिन्न स्थानमा एक लाख ५० हजार बिरुवा रोप्ने अभियान शुक्रबारदेखि शुरु गरेकोमा आज एकै दिन त्यतिका सङ्ख्यामा बिरुवा रोपिएको हो ।

राष्ट्रिय वृक्षरोपण दिवसलाई सघाउने नेपाली सेनाको अभियानअन्तर्गत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गल्फ कोर्ससहित काभ्रेको भकुण्डेबेँसी, महोत्तरीको बर्दिवास र चितवनको शक्तिखोरमा पुगेर सेनाका व्यारेक परिसरमा उक्त अभियानअन्तर्गत विभिन्न जातका बिरुवा रोप्नुभयो । 

सेनाले ‘एक जवान एक रुख’ (फलपूmलको बोटसहित) रोपण अभियान सैनिक मुख्यालय जङ्गीअड्डाबाट शुक्रबार शुरु गरेको  थियो । शुक्रबार सेनाले त्यहाँ २५० फलफूलका बिरुवा रोपेको थियो ।

 सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा’ रोपण कार्यक्रमलाई सहयोग पु¥याउने हेतुले सेनाले उक्त अभियान प्रारम्भ गरेको प्रधानसेनापति थापाले बताउनुभयो । अभियानका क्रममा विभिन्न जातका स्थानीय हावापानी सुहाउँदो फलफूलका साथै अरु विभिन्न जातका बिरुवा रोप्ने मात्र नभई संरक्षण पनि गर्ने नीति सेनाले लिएको छ ।

आज अपराह्नसम्म सेनाका विभिन्न व्यारेकमा आँप, लिची, कागती, सुन्तला, शीतलचिनीलगायतका फलफूलका साथै विभिन्न करीब ३८ हजार बिरुवा रोपिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

उक्त अभियानलाई सफल तुल्याउन सेनाले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समन्वय र सहकार्य गर्ने गरेको छ । अभियानका क्रममा सबै पृतना, बाहिनी, गण र गुल्मका परिसरमा वृक्षरोपण गरिनेछ ।

आज नेपाली सेनाले गरेको वृक्षरोपण कार्यक्रममा रक्षासचिव रेश्मीराज पाण्डे, वलाक्ष्यक्षरथी गौरव तन्डुल, उपरथी प्रभुराम शर्मा, उपरथी अनन्त कार्की, प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवर, सहायकरथी प्रेम शाहीलगायत वरिष्ठ सैनिक अधिकारीले भाग लिनुभएको थियो । 

भकुण्डेबेँसीको दल्सिङ्गे पाखामा भएको वृक्षरोपणमा काभ्रेका प्रजिअ उदयबहादुर राना,  नमोबुद्घ नगरपालिकाका प्रमुखलगायतको सहभागिता थियो भने बर्दिवासमा मध्यपूर्व पृतनापति नरेशचन्द भट्ट, सहायकरथी बाबुराम श्रेष्ठ, महोत्तरीका प्रजिअ तथा बर्दिवास नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिको उपस्थिति थियो । मध्यपूर्व पृतना, बर्दिवासमा भएको सो कार्यक्रममा २८ नं बाहिनीपति विनयविक्रम राणाले बारामा आएको आँधीहुरीबाट प्रभावितका लागि घर निर्माणकार्य साउन २६ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । 

यसैगरी शक्तिखोरस्थित सिंहनाथ गण (कमाण्डो) परिसरमा भएको कार्यक्रममा गणपति प्रेम हमाल, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, कालिका तथा रत्ननगर नगरपालिकाका प्रमुखलगायतको उपस्थिति थियो । आज त्यहाँ  खासगरी फलफूलकै एक हजार ५५८ बिरुवा रोपिएको हमालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस अभियानलाई २०१८ को जुन ५ मा शुरु गर्नु भएपछि उहाँको जोडअनुसार नै फलफूलका बिरुवा ३० प्रतिशत हुनैपर्ने गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता कँुवरले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!