पढ्न करिब 1 मिनेट लाग्छ

असार २६, परासी । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

रामग्राम–१० नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई आज बिहान घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

यसअघि विप्लव समूहकै जिल्ला सदस्य तथा उक्त समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) नवलपरासीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

२२ वर्षीया भण्डारीलाई पश्चिम नवलपरासी पहरीले सरावल गाउँपालिका–१ बासाचोकबाट पक्राउ गरेको थियो ।

भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको छ । भण्डारी कपिलवस्तु शिवराज नगरपालिका–१ की स्थायी बासिन्दा हुन् ।