कमल रायमाझी | जेठ ११, भैरहवा | महामारीको त्रास र घरभित्रै थुनिनुपर्दा विचलित मनलाई शान्त पार्न आध्यात्मिक चिन्तकहरु ध्यान र योगको सुझाव दिन्छन् । त्यसो त ध्यान र योग अन्य बेला पनि आवश्यक छ र यसलाई दिनचर्या नै बनाउनुपर्छ भन्ने कुरा हजारौँ वर्षदेखि भनिँदैआएको हो ।
ओशो ध्यान, चिन्मय ध्यान, भावातीत ध्यान जस्तै विपश्यना ध्यान मनलाई काबुमा ल्याउने अस्त्र हो । तनावयुक्त र हतास मनस्थितिमा रहेका मानिसको मनलाई एकाग्र बनाई जीवन जिउने कला सिकाउने माध्यम विपश्यना भएको बौद्ध भिक्षुहरु बताउनुहुन्छ । मानिसलाई दास बनाउने चञ्चल मनलाई वशमा राख्न विपश्यना ध्यान गर्न आवश्यक भएको उहाँहरुको अनुभव र सल्लाह दुवै छ । कोरोना र बन्दाबन्दी जित्ने एक माध्यम आफैँले आफैँले चिन्ने विपश्यना हुन सक्ने उहाँहरुको सुझाव छ ।
बन्दाबन्दीमा विपश्यना ध्यान उपयुक्त समय भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर बताउनुहुन्छ । “यस्तो समयमा ध्यान गरेर हतास र आत्तिएको चित्त र मनलाई शान्त गर्न सकिन्छ”, भिक्षु मैत्री भन्नुहुन्छ, “ध्यानले मानिसको चित्तलाई दमन गर्छ, मनलाई एकाग्र बनाउँछ ।”
सांसरिक जीवनमा हुने राग, द्वेष र मोहबाट मुक्त गराउने साधन एवं माध्यम पनि विपश्यना भएकाले अहिलेको समयमा संसारभर यसको प्रयोग पनि बढ्दो रहेको छ । आर्य–मौनको माध्यमबाट शिरदेखि पाउसम्म आफूले आफैँलाई पढ्ने र पाउदेखि शिरसम्म अध्ययन निरीक्षण गर्ने हुनाले पनि मानिसको मनलाई वशमा राख्न सकिने उत्तम मार्ग विपश्यना हो । आध्यात्मिक सुखशान्तिका लागि गरिने साधनाले चित्त निर्मल र शुद्ध हुने विपश्यना कर्म गर्नेहरु बताउँछन् ।
चित्तमा हुने नराम्रा प्रवृत्ति त्याग्नका लागि विपश्यनाले प्रेरणा दिन्छ । आफूले आफैँलाई चिन्न सिकाउँछ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा विपश्यना विषयमा प्राध्यापनरत सुमन्तराज न्यौपाने बन्दाबन्दीमा घरभित्र रहेका मानिसले दैनिक रुपमा आनापाना माध्यमबाट विपश्यना गरे मन निर्मल हुने बताउनुहुन्छ । न्यौपाने भन्नुहुन्छ, “विपश्यनाले आफूलाई चिन्ने, आफूलाई हेरेर अनित्यको बोध गर्ने र वस्तुनिष्ठ सत्यताको विकास गर्छ । पहिला आफ्नो अन्तरात्मालाई चिन्ने अनि बाह्य संसारलाई शून्यतामा बुझ्ने नै विपश्यनाको काम हो ।”
हामीले खोज्ने भौतिक सुखले बाह्य संसारमा सुख देखिए पनि आन्तरिक मनमा यसले कुनै फरक पार्दैन । भौतिक सुखले एकछिन आनन्द दिए पनि एकपछि अर्को इच्छा उत्पन्न हुँदै जाने तृष्णाले तनाव सिर्जना गराउँछ । वास्तविक सुख त मानिसको मनभित्र नै हुन्छ । आफूले आफैँलाई चिन्न सके मात्र हामी वास्तविक सुखको अनुभूति गर्न सक्छौँ । यो विपश्यनावाट मात्र सम्भव भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विपश्यना कक्षको ठहर छ ।
विपश्यना शरीरभित्र भएको विकार हटाउने तथा सुख र शान्तिले जिउने कला पनि हो । सिद्धार्थ गौतमले करीब दुई हजार छ सय वर्ष पहिला खोज गरेको विपश्यना अहिले सबै धर्म, समुदायकोे साझा भएको छ । प्राणी हिंसा नगर्ने, झूटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने भन्ने पञ्चशील पूर्णरुपमा पालना गर्नाले समाधि (साधन) प्राप्त हुन्छ । साधना गर्नाले मानिसमा प्रज्ञा (ज्ञान) प्राप्ति हुन्छ । चार आर्यसत्यको ज्ञान प्राप्त हुन्छः दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्ने मार्ग छ, दुःख निवारण हुन्छ । आर्य आष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि जस्तै दुःख निरोध गर्ने मार्ग पनि विपश्यना भएको लुम्बिनीका बौद्ध भिक्षुहरु बताउनुहुन्छ ।
विपश्यना आत्मशुद्धिको साधना–विधि हो । यसबाट शारीरिक तथा मानसिक रोगबाट मुक्त हुन सकिन्छ । यो अन्तरदृष्टिले आफँैलाई खोज्ने कला हो । विपश्यना शिविरमा बन्दाबन्दीका समयमा साधन गर्न असम्भव जस्तै भएकाले यसको प्रयोग घरमा गर्न सकिन्छ । विपश्यनाले दिमागलाई स्थिर राख्ने र शरीरका गतिविधि हेर्ने भएकाले अहिले यसको प्रयोग आवश्यक छ । कायानुपस्सना (शरीरका लागि), वेदनानुपस्सना (भावका लागि), चित्तानुपस्सना (चित्तका लागि), धम्मानुपस्सना (धर्म तथा विशेष प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ । यसको प्रयोग विपश्यना शिविरमा विपश्यना गुरुको मार्गनिर्देशनमा विशेष प्रकारले गरिने भए पनि घरमा हुँदा एकान्त स्थानमा आँखा बन्द गरी पलेटी कसेर बसी आनापाना (सास लिने र फाल्ने ) विधिले गर्न सकिन्छ । साथै शरीरलाई शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म आफैँ हेर्ने गर्नुपर्छ । यसले मन शान्त पार्छ ।
बौद्ध भिक्षु छेवाङ बन्दाबन्दीमा आत्मा र शरीरलाई नियन्त्रण गर्नका लागि योग र साधना प्रत्येक मानिसले गर्न आवश्यक भएको ठान्नुहुन्छ । चञ्चले मनलाई योग र साधनाले मात्र बाँध्न सक्ने भएकाले घरभित्र शान्त भएर साधना गरे अहिलेको संकट टार्न सहज हुने भिक्षु छेवाङको भनाइ छ । बन्दाबन्दीमा साधना गर्दा सादा खाना खानुपर्ने, शिललाई मान्नु पर्ने, चित्तलाई बाँध्नुपर्ने र विपश्यनाका आधुनिक गुरु सत्यनारायण गोयंकाका प्रवचन सुन्नुपर्ने धम्मजननी विपश्यना केन्द्र लुम्बिनीका प्रमुख राम कोइराला बताउनुहुन्छ ।
सबै मानिस शान्ति र आनन्दको खोजमा दौडिरहेका हुन्छन् । त्यसलाई पाउन बुद्ध वचनको पालन गर्नुपर्छ । मन, वचन र शरीरले गर्ने १० अकुशल कार्य नगरे मानिसमा शान्ति र आनन्द आउने बुद्ध वचनले प्रमाणित गरेको छ । मनबाट हुने तीन अकुशल कार्य लोभ, प्रतिहिंसा र असत्य ज्ञान हुन् । वचनबाट हुने अकुशल कार्य झूटो वचन, चुक्ली, कटुवचन र व्यर्थ वचन हुन् । शरीरबाट हुने अकुशल कार्य हत्या, चोरी, व्यभिचार हुन् । “साधना गर्दा यी काम नगर्ने प्रतिज्ञा गरेमा मानिसमा स्वतः शान्ति र आनन्द प्राप्त हुन्छ”, विपश्यना गुरु कोइराला भन्नुहुन्छ । रासस