१२ जुवाडे पक्राउ

Posted on: 19 Aug, 2020

भदौ ३, लहान । जुवा खेलिरहेको अवस्थामा गए राति सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजानिक गरेको छैन । जुवाखालबाट कौडा १६ थान, रु तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको रु चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय  लहानमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षकसहित सात जनामा सङ्क्रमण 

सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षकसहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका–४ का एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

सङ्क्रमितहरु २५ देखि ५५ वर्ष उमेर समूहका रहेको जनाइएको छ । सङ्क्रमित सबैलाई आइसोलेसनमा भर्ना गरिएको प्रमुख यादवले बताउनुभयो । यो सँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या २७४ पुगेको छ भने त्यसमध्ये २०९ कोरोना जितेर घर फर्किसक्नुभएको छ । कोरोना सङ्क्रमणबाट सिरहाको गोलबजार नगरपालिका–१२ र विष्णुपुर गाउँपालिका–१ का २२ र ४० वर्षका दुई जनाको मृत्यु भइसकेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!