भदौ ९, डोल्पा । दुई दिनदेखि परेको असिनापानीका कारण डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा व्यापक क्षति पुगेको छ ।

असिनापानीका कारण सो गाउँपालिकाको वडा नं एकदेखि चारसम्म कृषकले लगाएको गहुँ, उवा, फापरलगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङ्गले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन/चार महिनाको लामो खडेरीपछि परेको असिना पानीले गर्दा यहाँका फापर, गहुँ, उवालगायत अन्नबालीमा क्षति पुगेपछि कमाइको मुख्य स्रोतमै असर परेको छ ।”

वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ । “यो वर्ष यार्सागुम्बा पनि टिप्न पाइएन्, अन्नबाली पनि सबै सखाप पार्यो , जिविकोपार्जन कसरी गर्ने भन्ने ठूलो पीर परेको छ”, वडाध्यक्ष गुरुङ्गले भन्नुभयो ।

सोही वडाका किसान तेन्जिन टासी गुरुङ्गले असिना र पानीले आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरसका कारण आय आर्जनका सबै बाटो बन्द भएकाले जीवन गुजारा गर्ने भनेकै अन्नबालीले हो, त्यो पनि सबै सखाप पारिसक्यो, अब कसरी आफू र आफ्ना परिवार पाल्ने ठूलो चिन्ता परेको छ ।” उहाँले क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

विकास निर्माणमा क्षति

दुई दिनदेखि लगातार परेको असिना पानीका कारण आएको बाढीले वडा नं एकदेखि चारसम्मको विकास योजनामा ठूलो क्षति पुर्याएको शे–फोक्सुण्डो गाउँपालिकाले जनाएको छ ।

ती वडामा सङ्घ, प्रदेश र स्थानीय सरकारद्वारा निर्मित पर्यटन तथा ग्रामीण सडक, पुलपुलेसा र सिँचाइ कुलोमा क्षति पुर्याएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो । बाढीले केही सडक र पुल भत्काएपछि आवतजावतमा समेत समस्या भएको उहाँले भन्नुभयो । केही ठाउँमा किसानको पशुचौपाया समेत बगाएको उहाँले जानकारी दिनुभयो ।

असिना पानीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको बताइएको छ ।