२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमपात हुदाँ जनजीवन कष्टकर, किसान खुशी

२०७७, २३ माघ शुक्रबार ०२:०४

माघ २३, बाजुरा | बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण किसान उत्साहित र खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । 

समयमै हिमपात र बर्षा नहुँदा खेतमा लगाइएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । मङ्सिरबाट हिमपात हुनुपर्नेमा यो वर्ष माघ महिनामा मात्र हिमपात भएको छ । बिहीबार रातिबाट बर्षासँगै हिमपात हुन थालेपछि किसान खुशी भएका हुन् । 

लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदेबाली खेतमै सुक्ने भनेर चिन्तित बनेका यहाँका किसान बर्षासँगै हिमपात हुन थालेपछि अब बाली सप्रिने भन्दै उनीहरु उत्साहित भएका छन् । “यो वर्ष हिउँदे बाली उत्पादन नहुने भयो भनेर भरोसा मारिसकेका थियौँ”, बाजुरा गौमुल गाउँपालिकाका किसान मिलन रोकायाले भन्नुभयो, “एक्कासी बर्षासँगै हिमपात हुन थालेपछि अब हिउँदे बाली उत्पादनमा वृद्धि हुने आस पलाएको छ ।” हिउँ र पानीले अन्नबाली सप्रिनुका साथै सुक्खा मौसमले फैलन सक्ने रोग पनि रोक्ने भन्दै आफूहरु खुशी भएको उहाँको भनाइ छ । 

हिमपातले कृषकमा खुशीयाली ल्याए पनि यहाँका व्यापारी भने चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानी बन्द हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । बाजुरा जिल्लाको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक मार्ग भएर आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र पोरखे लेकमा सडक बन्द भएर दैनिक उपभोग्य सामानको अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । 

अहिले उच्च हिमाली क्षेत्रमा हिउँले डाँडाकाँडा सेताम्य छन् । एक्कासी बादल लागेर हिउँ पर्न थालेपछि निकै चिसो बढेको छ । चिसोमा न्यानो कपडा लगाउन र झोलिलो तातो खानेकुरा खान स्थानीय प्रशासनले आग्रह गरेको छ । निरन्तर हिमपात भइरहेकाले गाइबस्तु गोठभन्दा बाहिर निकाल्न सकिएको अवस्था छैन् । चिसोको मार बालबालिका र वृद्धवृद्धामा बढी देखिएको हो । बाजुरामा यो वर्ष पहिलो पटक हिमपात भएको हो । हिमपात नहुँदा धुलो र धुँवाका कारण मौसमी रुघाखोकीको प्रकोप बढ्ने सम्भावना थियो ।

यहाँका बडिमालिका नगरपालिका, बूढीन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात भइरहेको छ भने तलो क्षेत्रमा वर्षा भइरहेको छ ।

सिमकोट– हिमाली जिल्ला हुम्लासहित कर्णाली उच्च हिमाली जिल्लामा लामो समयपछि बिहीबार रातिदेखि हिमपात हुँदा यहाँका किसान खुशी भएका छन् । 

बिहीबार बिहानदेखि जिल्लामा बाक्लो बादल लाग्नुका साथै रातिदेखि हिमपात हुँदा चिसो बढेको छ । हिमपातले जिल्लाा तापक्रम माइनस डिग्रीमा झरेको छ । जिल्लाको उत्तरी भेगमा एक इन्च हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

मौसममा आएको बदलीसँगै एक्कासी हिमपात शुरु भएर बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ ।

यसपटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गहुँ, जौँलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षा नहुँदा चिन्तित बनेका किसान बिहीबारबाट हिमपात हुँदा खुशी भएको सर्केगाड गाउँपालिका–६ बराइगाउँका मानबहादुर ऐडीले बताउनुभयो । “यो हिमपातले हुम्लाका किसानमा निकै खुशी ल्याएको छ”, उहाँले भन्नुभयो, “यो हिमपात कृषि क्षेत्रका लागि उत्तम छ ।” यो समयमा जमिनमा चिस्यान रह्यो भने खेतिपाती निकै राम्रो हुने गरेको किसानको भनाइ छ । 

हिमपातकै कारण सिमकोट पढ्न आउने विद्यार्थी मर्कामा छन् । अहिले सिमकोट बजारका अधिकांश पसल तथा दोकानमा आगो बालेर दैनिक उपभोग्य बस्तु किनबेच भइराखेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राही आउन सकेका छैनन् । आएका सेवाग्राही समेत अलपत्र परेका छन् । 

ढिलो गरी हिमपात र वर्षा भएकाले बाली सप्रिनेमा हुम्लाका किसान धेरै हर्षित भएका छन् । हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिकाको लिमी, चाला र हिल्सा आवतजावतमा कठिनाइ भएको छ । हुम्लामा यस वर्ष तेस्रोपटक हिमपात भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ