चैत १६, डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ ।

नगरपालिकाको केन्द्र जुफालबाट वडा नं. ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नं.का दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।

घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुशल भएको र बिहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ । घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उनले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिएको बताए । आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको बताइएको छ ।

दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । आफू काठमाडौँ भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए । प्रहरी घटनास्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ ।

March 29, 2021
डोल्पा - DLP, समाज
डोल्पामा दुई डोजरमा आगजनी
By kit
2 मिनेट पढाइ