टेलिकमको रिचार्ज सिष्टममा समस्या, दाङका तीन लाख सेवाग्राही मर्कामा

Posted on: 08 Aug, 2016

सन्तोषकुमार गुप्ता । साउन २५, दाङ । नेपाल टेलिकमको ‘रिचार्ज सिष्टममा’ समस्या उत्पन्न भएपछि सेवाग्राहीहरले सास्ती बेहोरेका छन् । ७२ घण्टादेखि टेलिकमद्वारा बितरित फोष्टपेड, प्रिपेड, र स्काई मोर्वालमा रिचार्ज नहुने समस्या आएपछि दाङका ३ लाख बढी सेवाग्राहीहरु मर्कामा परेका छन् । गएकोे शुक्रबारदेखि ‘रिचार्ज सिष्टममा’ देखिएको समस्या आइतबारराती अवेरबाट मात्रै समाधान भएको छ । रिचार्जका लागि पटक–पटक कोसिस गर्दा पनि रिचार्ज नभएपछि सेवाग्राहीहरु मर्कामा परेका थिए । मोवाइलमा रिचार्ज नहुँदा आफूलाई समस्या उत्पन्न भएको घोराहीकी दीपा सुवेदीले बताउनु भयो । ‘कम्तीमा ५० पटक जति रिचार्ज गर्न खोजेँ, रिचार्ज गर्दा सर्भिस लजिक अनएभाइलेभल भन्ने म्यासेज आउने गरेको छ’, उहाँले भन्नुभयो ।

त्यस्तै घोराही ११ का दिपेश हमालले रिचार्ज नहँदा समस्यामा परेको बताउनुभयो । ‘टेलिकमले आफ्नो सेवालाई सुधार गरी गुणस्तरीय बनाउन राम्रोसँग पहल गरेको महसुस भएको छैन’, उहाँले भन्नुभयो । सरकारको स्वामित्वमा रहेको टेलिकमले यस अगाडि पनि रिचार्जमा देखिएको समस्यालाई समयमै समाधान गर्न लापरबाही देखाएको भन्दै उहाँले अहिले पनि पुनः सोही समस्या दोहोरिदासमेत समाधानतर्फ चासो नदिएको बताउनुभयो । त्यस्तै नमस्तेको नेटवर्कमा देखिने समस्याले गर्दा मोवाइलमा कुराकानी गर्दा कुरा नबुझिने, समयमै रिचार्ज नहुनेजस्ता धेरै समस्या आउँदा पनि समस्या समाधानतर्फ टेलिकमले चासो नदिएको प्रकाश शाहीले बताउनुभयो । रिचार्ज नहुँदा सेवाग्राहीले पाएको सास्ती अति भएपछि टेलिकमलाई प्रश्न गर्दै े उहाँले भन्नुभयो, ‘एनटिसीको सिम प्रयोग गर्नेहरूले घण्टांैसम्म रिचार्ज गर्न सकेका छैन्न्, रिचार्ज नहुँदा आपतकालिन फोनसमेत गर्न सकिएको छैन, समयमै सम्बन्धित निकायले ध्यान दिन सकेका छैनन्, के यही हो सेवाग्राहीले पाउने गुणस्तरीय सेवा ?’ त्यस्तै पत्रकार भुपेन्द्र प्रकाश वलीले समयमै मोवाइलमा रिचार्ज नहुँदा आपतकालिन फोन गर्न अप्ठ्यारो हुने गरेको बताउनुभयो । टेलिकमले समस्या समाधानका लागि पहल गरेको प्रत्यक्ष महसुस सेवाग्राहीले गर्न नपाएको भन्दै पत्रकार वलीले टेलिकमले आफ्नो लापरबाही देखाएकै कारण अझैसम्म समस्या समाधान हुन नसेकेको आरोप लगाउनु भयो । यसैगरी घोराहीको काठेकोहलमा फुटकर रुपमा रिचार्ज कार्ड विक्री गर्दै आउनुभएका पौडेल डेरी एण्ड कफी हाउसका सञ्चालक विष्णु पौडेलले पनि रिचार्ज नहुँदा थुप्रै सेवाग्राहीहरु मर्कामा परेको बताउनहुन्छ । पसलमा रिचार्ज कार्ड किन्न आउने सेवाग्राहीको घण्टांैसम्म रिचार्ज नहुने गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘मोवाइलमा पैसा रिचार्ज नभएपछि त फोन गर्न नै हराउँछ, यो समस्या नमस्तेको एनटिसी रिचार्ज कार्ड हालेर चल्ने प्रिपेड र पोस्टपेड दुवैमा रहेको छ ।’ 

रिचार्ज कार्डमा देखिदै आएको समस्याको विषयमा बुझ्न खोज्दा नेपाल टेलिकम घोराहीका कार्यालय प्रमुख सन्तोष शर्माले बिगत केही दिन यता टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा सर्भरमा समस्या आएपछि दाङ सहिद देशभरका नमस्तेको पोष्टपेड र प्रिपेड, सिडिएमए, स्काईका लाखांै ग्राहकहरुले रिचार्ज गर्दा सास्ती बेहोर्नुपरेको बताउनुभयो । ‘सिस्टमको समस्या आएपछि टेलिकमले रिचार्ज सिस्टम अपग्रेडिङलाई पनि रोकेको छ, भने सफ्टवेयरमा समस्या आएपछि झण्डै ७२ घण्टासम्म पनि रिचार्ज गर्न समस्या भएको छ । टेलिकमको केन्द्रिय कार्यालय काठमाडौंमा मुख्य डाटा सर्भर भोम्समा लगातार तीन दिनदेखि समस्या आएको छ’, उहाँले भन्नुभयो, ‘टेलिकमको मुख्य डाटा सर्भरमा नै खराबी आएपछि दाङ सहित देशभर टेलिकमको एनटिसी रिचार्जमा समस्या आएको हो, मैले काठमाडौं सम्पर्क गरेर बुझ्दा डाटा रिकभर गर्ने काम भइरहेको छ ।’ कार्यालय प्रमुख शर्माले थप्नुभयो, ‘यसअगाडि पनि सर्भरमा समस्या आएकै कारण टेलिकमको नमस्तेको रिचार्ज कार्डमा समस्या देखिएको थियो, यो समस्या पटक–पटक दोहोरिदै आएको छ, टेलिकमको बजारमा नमस्ते र एनटि रिचार्जकार्ड ल्याएको थिया । तर, अहिले बजारमा धेरै आएको एनटि रिचार्ज कार्डमा समस्या देखिएको छ ।’ दाङको मात्र नभई राष्ट्रिय समस्या भएकाले यस बारेमा दाङकोतर्फबाट टेलिकमको क्षेत्रीय कार्यालय नेपालगञ्च र केन्द्रीय कार्यालय काठमाडौंमा जानकारी पठाइएको उहाँको भनाइ छ । कार्यालयले दिएको जानकारी अनुसार रिचार्ज नहुने समस्याबाट दाङका नमस्तेको प्रिपेड २ लाख ९ हजार ४ सय ४३ जना , पोष्टपेड ६ हजार ५२ जना, स्काई प्रिपेड २९ हजार ३ सय र पोष्टपेड प्रयोग गर्ने ६ सय ७५ जना प्रत्यक्ष प्रभाव परेको छ । यसैगरेर ल्याण्डलाइन ६ हजार ३ सय ८६ जना, एडिएसएल १७ सय ९२ जना, सिडिएमए ३५ हजार जना सेवाग्राही प्रभावित भएको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!