नेपालमा पनि ओमिक्रोन ! कसरी आइपुग्यो ? (विज्ञप्ति सहित)

Posted on: 06 Dec, 2021

मङ्सिर २०, काठमाडौँ | नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर ३ गते त्रिभुवन विमानस्थलमा आएका एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय वृद्धमा ओमिक्रोन भेटिएको हो। दुबै जना विदेशी नागरिक हुन् । उनीहरूको सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गर्दा कसैलाई पनि संक्रमण देखिएको छैन।

यस्तो छ स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

कोभिड-१९ को भाइरसमा नयाँ उत्परिवर्तन (म्युटेसन) देखिएको छ र नयाँ उत्परिवर्तित भेरिएन्टलाई ओमिक्रोन नाम दिइएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हालसम्म यो भेरिएन्ट विश्वका ३५ देशहरूमा फैलिसकेको जानकारी प्राप्त भएको छ र यी देशहरूमा आजको मितिसम्म ५७४ जना ओमिक्रोन भेरिएन्ट संक्रमित देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ। दक्षिण एसियाका केही देशहरूमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ। यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ। यसको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले विभिन्न प्रयासहरू जारी राखेको छ

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भई प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ। एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरूको नमुना संकलन गरी पिसिआर गर्ने र शंकास्पद नमूनाहरूको जिन सिक्वेन्सिङ गर्ने गरिएको छ। यसका साथै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाहरूको थप परीक्षण गर्ने गरिएको छ।

यही क्रममा २०७८ मंसिर ३ गते नया भेरियन्ट पुष्टि भएको देश हुँदै एक ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउँदा नियमानुसार पिसिआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो। वहाँसँग नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्ति र स्वयं आफैंलाई मंसिर ७ गते कोभिड- १९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपश्चात परीक्षण गर्दा कोभिड ९९ को नतिजा पोजिटिभ आएको थियो। कोभिड-१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस-जिन परीक्षण गर्नु पर्ने हालको नयाँ रणनीति अनुरूप परीक्षण गर्दा दुवै जनाको नमूनामा एस-जिन फेला परेको थिएन। एस-जिन फेला नपरेका उक्त दुबै नमूनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा २०७८ मंसिर १९ गते राति कोभिड-१९ को  नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको छ।

हाल दुबै जना नेपाल सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा रही स्वास्थ्य लाभ गरी रहनु भएको छ।

हाल उहाँहरूमा कुनै लक्षण देखिएको छैन र स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ। उक्त दुई व्यक्तिहरूसँग सम्पर्कमा आएकाहरूको बृहत रूपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको, कन्ट्याक्ट ट्रेसिङबाट प्राप्त ६६ जना सम्पर्कहरूको पिसिआर परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको, सबै स्वस्थ रहेको पाइएको छ।

यससँगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको छ। आम नागरिकलाई ओमिक्रोनसम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरू आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ।

कोभिड १९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना (मास्कको सही प्रयोग, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने ) र  खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनुहुन अनुरोध गर्दछौं।

यस बिषयमा तपाइको प्रतिक्रिया...!