२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा

२०७९, २ फाल्गुन मंगलवार ११:०१

फागुन २, अन्नपूर्ण (कास्की) | विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे । अहिले सेटेलाइट र इन्टरनेटको प्रयोगका कारण आमसञ्चार क्षेत्रमा पनि निकै परिवर्तन आइसकेको र  नेपाली परम्परागत रैथाने सञ्चार प्रणाली धेरै गाउँबाट बिस्तारै हराउन थालेको छ । 

लोप हुने अवस्थामा रहेको कटुवाल प्रथा भने  पोखरा महानगरपालिका–१६ अर्मलाकोट गाउँमा अझै कायमै छ । यहाँका डिलप्रसाद जैसीले यो काम गरिरहनुभएको छ । छयत्तर वर्षका उहाँको स्वरमा ठिटोको जस्तो दम छ । कटुवाल जैसीको आवाजले अर्मलाकोटका ७० घर परिवारको कान ठाडो ठाडो हुन्छ । उहाँको आवाज गुन्जिएपछि गाउँलेहरुले गाउँमा के नयाँ काम हुन थाल्यो भनेर कान थापेर सुन्छन् । 


गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको कार्यक्रममा सूचना पु¥याउने काम जैसी नै गर्नुहुन्छ । उहाँको कामलाई अर्मलाकोटमा ‘घोक हाल्ने’ भनेर बुझिन्छ । पछिल्लो समयमा त्यस गाउँको होमस्टेमा पाहुना जाँदा जैसीको दिन गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ । “गाउँ अलि धेरै क्षेत्रमा फैलिएकाले एक ठाँउबाट मात्र घोक फिराउँदा नसुनिएला कि भनेर तीन ठाउँमा गएर घोक हाल्छु”, उहाँ भन्नुहुन्छ, “गाउँमा हुने भेला, सार्वजनिक कार्यक्रम, बैठक, असिना पर्दा, विवाह हुँदा, मानिसको मृत्यु हुँदा घोक हाल्ने हो ।”

यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परा कायमै रहँदा जैसीलाई भ्याइनभ्याइ भएको हो । गाउँलेले कटुवालको  कामका लागि  छनोट गरेकाले उहाँले  विगत पाँच वर्षदेखि यो काम थाल्नुभएको हो । “मभन्दा पहिला शेरबहादुर परियारले यो काम गथ्र्यो”, कटुवाल भन्नुहुन्छ, “उसले के बेइमान गरेछ अनि मैले नै गर्न थालेको हुँ । शेरबहादुरभन्दा पहिला पनि मैले नै गर्थें ।” 

अर्मलाकोटमा रेडियो, टिभी अनि मोबाइल भए पनि कटुवालले घोक हालेपछि आफूहरुलाई विश्वास लाग्ने स्थानीय देउसरी गुरुङ बताउनुहुन्छ । “गाउँमा बैठक भयो भने फोन त आउँछ तर कटुवालले सुनाएपछि बल्ल ढुक्क हुन्छु,” उहाँ भन्नुहुन्छ । 

गाउँमा पाहुना आएपछि सबैलाई फोन गरिराख्नुभन्दा कटुवाल घोकाउँदा सजिलो हुने अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङको भनाइ छ । सूचना र प्रविधिको युगमा धेरै स्रोत साधन भए पनि परम्परादेखि चल्दै आएको चलनलाई जोगाएर राख्नुपर्ने उहाँको तर्क छ । 

जैसीभन्दा अगाडि शेरबहादुर परियार, सिंहबहादुर परियार, काजीमान नेपाली र कृष्णबहादुर परियारले कटुवालको काम गरिसकेको कटुवाल जैसी जानकारी दिनुहु्न्छ । “गाउँमै कटुवालको काम गर्न पाउँदा उहाँलाई पनि खुसी लागेको छ । नजिकका अरू गाउँमा कटुवाल प्रथा छैन । यो प्रथालाई जोगाएर राख्नुपर्छ भनेर लागेको छु”, जैसी भन्नुहुन्छ,  “तर परिश्रमिकमा भने आफ्नो चित्त बुझेको छैन ।’’ 

कटुवाल घोकेबापत जैसीले प्रत्येक घरबाट दिने दुई पाथी कोदो बाली उठाउनुहुन्छ । सत्तरी घरबाट कोदो उठाउँदा करिब सात मुरी कोदो जम्मा हुन्छ । दुई छोराहरु बजार झरे पनि आफू र श्रीमती पालिन यसले नपुग्ने गरेको उहाँको गुनासो छ । जैसी भन्नुहुन्छ, “सात मुरी कोदोले पुग्न त पुग्छ नि तर कोदो मात्र खाएर भएन तरकारी कताबाट ल्याउने ?”, कटुवाललाई प्रथाको रुपमा नराखेर अब पेसा बनाउनुपर्नेमा उहाँको जोड छ । वडाबाट केही सहयोग भयो भने यो पेसा पनि जोगिने र आफूलाई पनि जीविकोपार्जनमा सहयोग पुग्ने जैसीको भनाइ छ  ।

पोखरा महानगरभित्र रहेको कटुवाल प्रथा जोगाउने पक्षमा गाउँवासी रहे पनि वडा कार्यालयबाट अहिलेसम्म कुनै योजना नबनाइएको पोखरा–१६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना बताउनुहुन्छ । “यो एउटा संरक्षण गर्नुपर्ने प्रथा हो, दूरदराजका ठाउँमा टेलिफोनको सबै सुविधा पनि सबैसँग छैन्”, वडाध्यक्ष तिमिल्सिना भन्नुुहुन्छ, “हिजोको प्रथा जोगाउने कि परिमार्जन गर्ने भन्ने सवाल उठेको छ ।” 

कटुवालजस्तै अन्य प्रथा पनि महानगरभित्र रहेकाले ती प्रथा खोजी गर्दै महानगर कार्यालय नै संरक्षणमा लाग्नुपर्ने उहाँको भनाइ छ  । “धेरै ठाउँमा यस्तो प्रथा देख्नै पाइँदैन । यसलाई जीवन्त राख्न सकियो भने हाम्रो परम्परा धानिन्छ”, वडाध्यक्ष तिमिल्सिना भन्नुुहुन्छ, “अहिलेको पुस्ताले त धानिरहेको छ । अब आउने पुस्ताले यो काम गर्छ कि गर्दैन भन्ने चुनौती पनि छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै