बेन्जेमाको ह्याट्रिकमा बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा प्रवेश

Posted on: 06 Apr, 2023

चैत २३, काठमाडौं | करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४-० ले हराउँदै समग्रमा ४-१ को जित निकालेको हो ।


यसअघि रियलको घरेलु मैदानमा भएको पहिलो लेगमा रियल बार्सिलोनासँग १-० ले पराजित भएको थियो । 

रियलका लागि पहिलो हाफको इन्जुरी टाइममा भिनिसियस जुनियरले बेन्जेमाकै पासमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा बेन्जेमाले आठ मिनेटको अन्तरमा (५०औं, ५८औं) मिनेटमा दुई गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । बेन्जेमाले खेलको ८०औं मिनेटमा अर्को गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरे | बेन्जेमाको यो लगातार दोस्रो ह्याट्रिक हो । गत आइतबार उनले ला लिगामा रियल भालाडोलिडविरुद्ध ह्याट्रिक गरेका थिए ।

अब मे ६ मा हुने फाइनलमा रियलले अब उपाधिका लागि ओसासुनासँग प्रतिस्पर्धा गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!