ओमान र नेपालबीच जारी क्रिकेट खेल प्रभावित, ८४ रनले नेपाल बिजयी

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौँ । काठमाडौँको मौसम परिवर्तन भएपछि जारी एसीसी प्रिमियर कप अन्तर्गतको क्रिकेट खेल प्रभावित भएको छ । एक्कासी हावा हुरीको कारण पटक पटक त्रिवि क्रिकेट मैदानमा जारी खेल प्रभावित भएको थियो । 

यसैबीच नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले ४७ ओभरको खेलसम्ममा २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भएको हो ।

खेलको ओमानलाई जित्ने क्रममा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी दुई र ललित राजवंशी एक–एक विकेट लिए ।

ओमानका मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाएपनि जितका लागि प्राप्त हुन सकेन । सन्दीप गौड ४६ , आयन खान २९, फैयज बट १९, जतिन्दर सिंह १५, आदिल शफिक १३ र कलिमुल्लाह २ रनमा आउट भए । 

काठमाडौँको मौसम परिवर्तनको कारण क्रिकेट मैदानमा पटक-पटक हावाहुरीले समस्या पारेको थियो । यस क्रममा खेलको दोश्रो इनिङको मध्येक्रमबाट मौसम बदली भएर हुरी आउने र साइड बोर्डहरु ढल्ने तथा हुरीकै कारण खेलमा समस्या समेत आएको थियो । 


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मद्धतमा कीर्तिमानी ३१० रन बनाएको थियो । आजको खेलमा ३ विकेट लिएका नेपाली बलर सन्दिप लामिछानेले एक दिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिएर क्रितिमानी समेत गरेका छन् । लामिछानेले अफगानी बलर राशिद खानको ४४ खेलमा बनेको १०० विकेटलाई तोड्दै ४२ खेलमै १०२ विकेटको कृतिमानी रेकर्ड बनाएका हुन् । 

ओडिआईमा ओमानलाई लक्ष्य दिने क्रममा नेपालले ३१० रन बनाएको नेपालको लागि यो कीर्तिमानी स्कोर हो । खेलमा युवा अलराउण्डर कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीले अर्धशतक प्रहार गर्दा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ रोजेको नेपालका लागि कुशल मल्लले १०८ रन र सोमपाल कामीले अविजित ६३ रन बनाए ।

पहिलो चार ओभरमा कुनै रन जोड्न नसकेको नेपालले २८ औ बलको सामना गरेपछि मात्र रनको खाता खोलेको थियो । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल बिना रन आउट हुँदा नेपाल सुरुवातमै कमजोर बनेको थियो । 

तेस्रो ओभरमा कुशल भुर्तेल बिलाल खानले एलबीडब्लु धरापमा परे । आसिफलाई कलिमुल्लाहको चौथो ओभरमा बोल्ड गरे ।

त्यसपछि आएका भिम शार्की र कप्तान रोहित पौडेलले अर्धशतकिय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले । तेस्रो विकेटका लागि भिम र रोहितले ५४ रनको साझेदारी खेले ।

यस क्रममा रोहितले ३४ बलमा २३ रन बनाए भने त्यसपछि भिम २० औं ओभरमा ३३ रन बनाएर आउट भए । 

त्यसपछि आरिफ शेख र कुशल मल्लले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरे । यस क्रममा आरिफले २९ रन बनाए भने कुशलले ६४ बल खेल्दै ९ चौका र १० छक्का मदतमा १०८ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ७ र सन्दीप लामिछाने ८ रनमा आउट भए ।

सोमपाल र करण केसीले नवौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरे । सोमपालले ४८ बल खेल्दै ९ चौका मदतमा अविजित ६३ रन बनाए । करणले १५ बलमा २ चौका र १ छक्का मदतमा अविजित २९ रन बनाए ।

खेलमा ओमानका लागि आएन खानले २ तथा बिलाल खान, कलिमुल्लाह, जिसान मक्सुद फयाज बट, अकिब इल्यास र जतिन्दर सिंह्यले समान १ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!