बैशाख ९, काठमाडौँ | नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज बहराइनले कुवेतलाई २५६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २५५ रन बनाएपछि हो । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा बहराइनका लागि इम्रान अन्वारले १८ बलमा पाँच छक्का र तीन चौका प्रहार गर्दै ५३ रन बनाए । त्यस्तै, फियाज अहमदले ५४ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ४८ रन बनाए । जुनैद अजिजले ३६ रन, साहिल अहमदले ३४ रन, रिजवान बटले १९ रन र शाहबाज बादरले १६ रन बनाए ।
कुवेतका लागि बलिङतर्फ सायद मोनिबले ४ विकेट लिए भने शाहरुख कुदुसले २ र एदनान इड्रिसले १ विकेट लिए ।
समूह ‘बी’ मा रहेको बहराइन लागतार दोस्रो जितको खोजिमा छ । यसअघि बहराइनले सिंगापुरलाई १३२ रनले पराजित गरेको थियो । त्यस्तै कुवेत भने पहिलो जितको खोजिमा छ । यसअघि कुवेत यूएईसँग १४३ रनले पराजित भएको थियो ।