गुजरातलाई हराउँदै चेन्नाइले जित्यो पाँचौं पटक आईपीएल उपाधि

Posted on: 30 May, 2023

जेठ १६, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । चेन्नईले सोमबार राति खेलिएको फाइनलमा बलियो टिम गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको हो ।

टस हारी पहिलो ब्याटिङ गरेकोको गुजरातले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । चेन्नई जवाफी ब्याटिङमा ओर्लिएपछि पहिलो ओभरको तेस्रो बलपछि नै वर्षाका कारण खेल रोकिएको थियो । पहिलो तीन बलमा चेन्नईले केवल चार रन बनाएको थियो । वर्षा रोकिए पछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो। 

त्यसपछि चेन्नईसँग आक्रामक ब्याटिङ गर्नुको विकल्प रहेन । चेन्नईको जितमा ओपनर डेभन कनवेले ४७ रनको योगदान गरे । उनले केवल २५ बलको सामना गरी दुई छक्का र चार चौका पनि प्रहार गरेका थिए ।

कनवे र रुतुराज गायकवाडले ओपनिङ विकेटका लागि ७४ रनको साझेदारी गरे । गायकवाडले १६ बलमा एक छक्का र तीन चौकाको मद्दतले २६ रन बनाए । त्यस्तै शिवम दुबेले  २१ बलको सामना गरी अविजित ३२ रनको योगदान गरे । 

अजिनक्या रहानेले १३ बलमा २७ रन बनाए । अम्बाटी रायडुले १९ रन जोडे । रविन्द्र जडेजाले केवल ६ बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले अविजित १५ रन जोडेर टिमलाई जित हासिल गराए ।


गुजरातका बलर मोहित शर्माले ३ र नुर अहमदले २ विकेट लिए । 

त्यसअघि पहिलो ब्याटिङ गरेको गुजरातका लागि साई सुदर्शनले ९६ रन बनाए | उनले ४७ बलको सामना गरी ६ छक्का र आठ चौका प्रहार गरेका थिए ।

ओपनर ऋद्धिमान शाहले ५४ रन बनाएका थिए । अर्का ओपनर शुभमन गिलले २० बलमा सात चौकाको मद्दतले ३९ रन जोडे । कप्तान हार्दिक पाण्डेयाले अविजित २१ रन बनाएका थिए । चेन्नईका लागि बलर माथिसा पाथिरनाले २ विकेट लिए । उक्त खेलमा डेवन कनवे म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि सिरिको पुरस्कार भने शुभमन गिलले पाए ।

कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि चुम्न सफल भए | यसअघि चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८ र सन् २०२१ म आईपीएलको उपाधि जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!