जेठ २७, काठमाडौँ | विश्वकपको ग्लोबल छनोटको दोस्रो अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १५६ रनको मात्रै योगफल बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए । आठौं नम्बरमा आएका प्रतिश जिसी १९ रनमा क्याच आउट हुन पुगे ।
यसअघि नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई ४ रनमा गुमाएको थियो । त्यस्तै नेपालले दोस्रो विकेट तेस्रो ओभरमा गुमाएको थियो । अर्जुन साउद ४ रनमा क्याच आउट भएका थिए । कुशल भुर्तेल चौथो ओभरको चौथो बलमा १० रनमा एलबीडब्लू आउट भए भने बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रनमा आउट भए । भीम सार्की १० रनमा रन आउट हुँदा आरिफ शेख १८ रन, गुल्सान झाले २४ रन जोडे । सोमपाल कामीले १८ रन बनाए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ५ विकेट लिए ।