जेठ ३०, काठमाडौं | एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपाल पाकिस्तान 'ए' सँग पराजित भएको छ ।
जितका लागि ८८ रनको लक्ष्य पच्छ्याएको नेपालले पूरै २० ओभर खेलेपनि ९ रनको हार ब्यहोर्यो ।
नेपालका लागि कविता कुँवरले २० र कविता जोशीले नटआउट १५ रन जोडेका थिए तर त्यो जितका लागि पर्याप्त भएन् ।
अन्य ब्याटरले दोहोरो अंकमा रन जाेड्न सकेनन् । ६ विकेटको क्षतिमा नेपालले ७८ रन मात्रै बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
नेपालका लागि इन्दु बर्माले ३ विकेट लिएकी थिइन् । यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २-२ विकेट लिए ।
इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।