दीपेन्द्रले लिए अमेरिकाको आठौं विकेट

Posted on: 20 Jun, 2023

असार ५,काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्घको आफ्नो दोस्रो खेलमा नेपालले आठौं वकेट लिएको छ । अमेरिकाले एक सय ७० रनको कूल स्कोरमा आठौं विकेट गुमाएको हो । 

अमेरिकाको आठौं विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले अमेरिकाका जेसी सिंहलाई १२ रनमा आउट गरे ।

त्यसअघि गुल्सन झाले अमेरिकाको सातौं विकेट लिएका थिए । गुल्सनले अमेरिकाका निसर्ग पटेललाई आठ रनमा आसिफ शेखद्वारा क्याच गराएका थिए । त्यसअघि ललितनारायण राजवंशीले अमेरिकाको छैटौं लिएका थिए । ललितले अमेरिकाका ओपनर ब्याट्सम्यान सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड गरेका थिए । मोदानीले ७१ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काएका थिए । 

त्यसअघि दीपेन्द्रसिंह ऐरीले अमेरिकाको पाँचौं विकेट लिएका थिए । दीपेन्द्रले अमेरिकी ब्याट्सम्यान गजानन्द सिंहलाई २६ रनमा आउट गरेका थिए । उनले गजानन्दलाई आरिफ शेखमार्फत क्याच गराएका हुन् । गजानन्दले ४१ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । अमेरिकाविरुद्घको जारी खेलमा आरिफले लिएको यो तेस्रो क्याच हो । 

त्यसअघि करण केसीले चार विकेट लिएका थिए । करणले चौथो विकेटका रुपमा अमेरिकाका नस्थुस केन्जिगलाई आउट गराएका थिए । नस्थुस केन्जिग एक रनमै पेभेलियन फर्किएका थिए । उनलाई करणले आरिफ शेखमार्फत क्याच गराएका थिए । 

करणले यसअघि अमेरिकाका कप्तान एरोन जोन्सलाई पनि दुई रनमा पेभेलियन फर्काएका थिए । करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए । जोन्स तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । खेलको सुरुदेखि नै अमेरिकी ब्याट्सम्यानहरु नेपाली बलरको दबाबमा परेका थिए । 

त्यसअघिको दुबै विकेट पनि करणले नै लिएका हुन् । उनले पहिले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई चार रनमा एलबीडब्लू आउट गराए । त्यसलगत्तै उनले सैतेजा मुकामल्लालाई शून्य रनमै पेभेलियन फर्काए । करणले तेस्रो नम्बरमा क्रिज समाल्न आएका सैतेजलाई आरिफ शेखद्वारा क्याच गराएका थिए । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा विकेट लिएका थिए ।

नेपालले टस जितेर अमेरिकालाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । एकदिवसीय विश्वकपको छनोट खेल जिम्बाबेमा भइरहेको छ । अमेरिकाविरुद्घको खेलमा नेपालका तिब्रगतिका बलर सोमपाल कामी भने सहभागी थिएनन् । औंलामा लागेको चोटका कारण उनी टोलीबाट बाहिरिएका हुन् । उनको स्थानमा स्पिनर ललितनारायण राजवंशीले खेल्ने अवसर पाएका थिए । 

नेपाल र अमेरिका दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जिम्बाबेले आठ विकेटले हराएको थियो । अमेरिकालाई भने पहिलो खेलमा वेस्ट इन्डिजले हराएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!