यूएईलाई हराएको नेपालको अब आयरल्याण्ड अर्को प्रतिस्पर्धी, यूएईले अमेरिकासँग खेल्ने

Posted on: 03 Jul, 2023

असार १८, काठमाडौँ | क्रिकेट विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले अन्तिम खेलमा आयरल्याण्डसँग खेल्ने भएको छ। नेपालले मंगलवार आयरल्याण्डविरुद्ध टाकासिंगा स्पोर्ट्स क्लबमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

समूह 'ए' र 'बी'बाट तीन-तीन सुपरसिक्समा पुग्दा बाँकी दुई-दुई टोली प्लेअफमा पुगेका थिए। प्लेअफमा पुगेको समूह 'ए' मा पाँचौँ बनेको अमेरिकाले आयरल्याण्डसँग पराजय ब्यहोरेको थियो।

त्यस्तै समूह 'ए' मा चौथो बनेको नेपालले समूह 'बी' मा पाँचौँ बनेको यूएईलाई हराएको थियो। आइतवार सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। यसक्रममा बृत्य अरबिन्दले सर्वाधिक ४५ रन बनाउँदा रोहन मुस्ताफाले ३५, बसील हमीदले २९ तथा आर्यन्स शर्माले २८ रन बनाएका थिए। बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिँदा प्रतिश जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिएका थिए। ब्याटिङमा ओपनर कुशल भुर्तेलले ३५ रन बनाउँदा त्यसपछिको क्रम धर्मराएको थियो। १०६-७ को अवस्थामा पुगिसकेको नेपाललाई दीपेन्द्रसिंह ऐरीले ७० रनको साझेदारी गर्दै उकासेका थिए। ऐरीले अविजित ७९ रन बनाउँदा लामिछानेले अविजित २३ रन बनाए।

नेपालले यूएईलाई हराएसँगै सातौँ स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आयरल्याण्डसँग पराजय ब्यहोरेको अमेरिका र नेपालसँग पराजय ब्यहोरेको यूएई नवौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!