त्रिदेशीय टी–२० शृङ्खलामा आज नेपाल र हङकङबीच खेल हुँदै

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले दोस्रो खेलमा हङकङसँग खेल्दैछ  । खेल बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । 

हिजो भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले परजित गर्दै सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

टी– ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको हो । पछिल्लो पटक नेपाल र हङकङबीच २०२० मार्चमा एसीसी टी–ट्वान्टी इस्टर्न रिजनमा खेलेका थिए । 

टी–ट्वान्टी विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुईदुई खेल खेल्नेछन् । सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । 

अब नेपालले कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते युएईको सामना गर्ने तालिका छ । युएई र हङकङबीच भने कात्तिक ५ र ८ गते प्रतिस्पर्धा हुनेछ । 

दुई खेल खेलेपछि अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ ।

शृङ्खलाको फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान तथा अन्य खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

रोहितकुमारको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर), सन्दीप जोरा, श्याम ढकाल (मौसम), विवेक यादव, अविनाश बोहरा, सागर ढकाल, सूर्य तामाङ र लोकेश बम छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!