टी–२० विश्वकप फाइनल छनोट : आज नेपाल र मलेसियाबीच खेल हुँदै

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबीच खेल हुँदैछ । प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!