२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित हुने

२०७५, १८ पुष बुधबार ०८:२०

कुमार चौलागाई | पुस १८, काठमान्डौ | देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । 

विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् । 

भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको काम शुरु नै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माणले गति लिए पनि तोकिएको समयसीमा आगामी फागुन पहिलो सातासम्म पुनःनिर्माण नसकिने भएको छ । 

आगामी फागुन पहिलो सातासम्म रङ्गशाला निर्माण सम्पन्न गर्ने र फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) सोही रङ्गशालामा उद्घाटन गर्ने तयारी भए पनि लक्ष्यअनुसार काम नभएपछि अहिले समस्या उत्पन्न भएको छ । 

रङ्गशालालगायत अन्य भौतिक पूर्वाधार नबन्दा गत मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पनि तेस्रो पटक सरिसकेको छ भने १३ औँ दक्षिण एशियाली खेलकूद पनि समयमा नहुने निश्चित भएको छ । 

सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एसियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको छ । तर, दशरथ रङ्गशालाको पुनःनिर्माण हालत सन्तोषजनक छैन । रङ्गशाला निर्माणको काम नसकिदा १३ औँ दक्षिण एशियाली खेलकूदसमेत अन्योलमा परेको छ । 

राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले तोकिएको समयमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न नभएपछि नेपालले आयोजना गर्ने १३ औँ दक्षिण एशियाली खेलकूद छ महिनाका लागि सार्ने प्रस्ताव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न हुन्छ, रङ्गशालामा भव्य कार्यक्रम गरेर खेलकुदको स्वर्ण युग घोषणा गरेरमात्र म राखेपबाट बिदा हुन्छु ।” 

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माणको काम नेपालको भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्ष चीन सरकारको सहयोगमा निर्माण हुनेछ । नेपालले निर्माण गर्नुपर्ने काममध्ये ७० प्रतिशत काम पूरा भएको छ । त्यसपछि चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, ‘साउन्ड सिस्टम’, ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’को काम शुरु हुनै बाँकी छ । यद्यपि चिनियाँ कम्पनीले स्कोर बोर्ड निर्माणको काम केही साताअघिदेखि शुरु गरेको छ । 

रङ्गशाला पुनःनिर्माणको मुख्य कामको स्वरूपमा रहेको ‘भिआइपी प्यारापिट’ (अति विशिष्ट व्यक्ति बस्ने स्थान) र साधारण प्यारापिट (दर्शक बस्ने स्थान) को तल्लो चार तहको काम पिएल प्रतिष्ठान किराँतेश्वर जेभीले गरिरहेको छ । २०७३ सालमा यो कम्पनीले ठेक्का पारेको थियो । राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्यायले भन्नुभयो, ‘अहिले पनि एक सयदेखि १५० मजदुरले दैनिक काम गरिरहेका छन् । सबै काम सम्पन्न हुन असार मसान्तसम्म त लाग्छ ।” 

एक महिनाभित्र बाहिरी निर्माणको काम सम्पन्न हुने उल्लेख गर्दै उहाँले साधारण प्यारापिटको उत्तरतर्फ करिब ३० मिटर प्यारापिटको ढलान र भिआइपी प्यारापिटको ३३ पिलरमध्ये ११ पिलरको रेट्रोफिटको काम बाँकी नै छ । भिआइपी प्यारापिटको छानो हाल्ने र प्यारापिटका सबैतिर कुर्सी राख्न टेन्डर प्रक्रिया शुरु भएकै छैन । 

रङ्गशालाको अहिलेको स्वरूप भने २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो । 

रङ्गशालाको शुरुआती चरण 

पहिले खाली मैदान रहेको यो स्थानमा २०१३ सालमा रङ्गशाला बनाइएको हो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो । तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथलेटिक्स र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रङ्गशाला बनाउने कामको जिम्मा दिइएको थियो । 

त्यतिबेला रङ्गशालाको पूर्वपट्टि सेनाको ब्यारेक थियो । उत्तरतर्फ बाँसको झ्याङ थियो भने दक्षिणतर्फ खुला थियो । पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो । रङ्गशालाको पहिलो संरचना त्यहीबेला बनेको हो । राखेप सदस्यसचिवका रूपमा २०३४ सालमा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भयो । २०३५ मा शुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भएको थियो । रासस |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो