२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

२०७८, २० भाद्र आईतवार ०९:४४

विक्रम गिरी/मुना कार्की । भदौ २०, काठमाडौँ (रासस)। भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न नसक्दा नेपाल जितबाट चुक्यो । भारतले एक गोल गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो । पहिलो खेलमा निराश बनाएको नेपाली टोली आजको खेलमा घरेलु दर्शकलाई खुशी दिलाउन चाहन्छ । 

विश्व फुटबल महासङघ (फिफा) को बरियतामा नेपाल भन्दा भारत ६३ स्थानमाथि रहेको छ । तर पहिलो खेलमा बराबरीमा रोक्न सफल भएकाले नेपाली टोली निकै उत्साहित देखिन्छ । आज साँझ ५.३० बजे दरशथ रङगशालामा हुने दोस्रो खेलमा नेपाली टोली जितका साथ मैदान प्रवेश गर्नेछ । नेपाली टोलीलाई पाँच हजारभन्दा बढी दर्शकको साथसमेत रहने छ । 

फिफा बरियताअनुसार भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ । सन् १९८५ मा बङ्गलादेशमा दोस्रो दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भारतबीच पहिलो पटक भिडेको नेपालले त्यसयता उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १३ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् ।  

पहिलो पटक नेपालले सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एशियाली खेलकूदमा भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीले दुई दुई गोलको बराबरी खेलेपछि नेपालले भारतलाई टाइबे्रकरमा हराउन सफल भएको थियो । नेपालले भारतसित घरेलु मैदानमा भने तीन पटक मात्र खेलेको छ । 

सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एशियाली खेलकूदमा पहिलो पटक खेल्दा भारतले नेपाललाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै सन् २०१३ सेप्टेम्बर पाँचमा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो पटक खेल्दा नेपालले भारतलाई २–१ गोलले हराएको थियो ।

 उक्त खेलमा नेपालका लागि जुमानु राई र अनिल गुरुङले गोल गर्नुभएको थियो । सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले भारतसित गोलरहित बराबरी खेलेको थियो । भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल जित्नेमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ढुक्क हुनुहुन्थ्यो । खासगरी भारतीय टोलीमा अनुभवप्राप्त पुराना खेलाडीको अभाव रहेकोबारे प्रशिक्षक अलमुताइरी जानकार हुनुहुन्थ्यो । भारतसित नेपालले बराबरी खेलेपछि आजको खेलमा आफ्नो टोली जित्नेमा उहाँको विश्वास छ । नेपालभन्दा अब्बल टोली भारतलाई बराबरीमा रोक्दा अलमुताइरी उत्साहित हुनुभएको छ । 

उहाँले नेपाली टोलीले गर्व गर्न लायक प्रदर्शन गर्ने वाचा गर्दैआउनु भएको छ । अलमुताइरीको वाचाले पनि नेपाली टोलीमा उत्साह बढेको छ । नेपाली टोलीका लागि कप्तान किरणकुमार चेम्जोङ भरपर्दा गोलकिपर हुन । उहाँले पहिलो खेलमा पनि भारतीय टोलीलाई गोल गर्नबाट पटकपटक रोक्नुभयो । भारतीय कप्तान सुनिल क्षेत्रीलाई रोक्न सके मात्र पनि आफ्नो टोली खेल जित्नेमा चेम्जोङको विश्वास छ । भारतीय टोली क्षेत्रीका साथै अनिरुद्ध थापा, ब्राण्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर छ । नेपाली टोली गोलकिपर चेम्जोङका साथै अन्जन विष्ट, सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटीगायत खेलाडीको प्रदर्शनमा भर पर्ने छ । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको टोलीबाट सर्वाधिक ७४ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाउनुहुने छ । 

बिहीबार खेल्दा उहाँले बिराज महर्जनसित बराबरी गर्नुभएको छ । महर्जनले ७३ अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाली टोलीबाट सन्यास लिइसक्नुभएको छ । अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले खेल हेर्न अनुमति दिएको हो । पहिलो खेलमा पाँच हजार एक सय दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । नेपाली टोली भारतसित ६ वर्षपछि खेल्न लागेको हो । नेपालले भारतीय टोलीलाई आठ वर्षयता हराउनसकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३४ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा १० गोल मात्र गर्न सकेको छ । 

एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ