श्रीलंकामा जारी अभ्यास खेलमा फेरी पनि नेपालीले हरायो श्रीलङ्का नेभीलाई

Posted on: 08 Mar, 2022

फागुन २४, काठमाडौँ । कोलम्बोमा आज मङ्गलवार भएको खेलमा पनि नेपालले श्रीलङ्का नेभीलाई ८१ रनले हरायो ।

नेपालले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको नेभीले ३० ओभर पाँच बलमा अलआउट हुँदै एक सय १५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि पवन सरार्फले ३, दीपेन्द्रसिंह ऐरीले दुई तथा सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर चार बलमा अलआउट हुँदै एक सय ९६ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६३ रन बनाए । यस्तै विवेककुमार यादवले २६, भीम सार्कीले २८, पवन सर्राफले २२, रोहित पौडेल र सागर ढकालले ८/८ तथा कुशल भुर्तेलले तीन रन बनाए । विनोद भण्डारीले दुई रन बनाए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले १/१ रन बनाए । कप्तान सन्दीप लामिछाने १४ रनमा नटआउट रहे । 

हिजो साेमवार भएको खेलमा नेपाल एक सय ११ रनले विजयी भएको थियो । यूएईमा हुने विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोली अभ्यास खेल खेल्न श्रीलङ्कामा छ । श्रीलङ्कामा रहँदा नेपाली टोलीले चार वटा अभ्यास खेल खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!