काठमाडौँ | मुम्बईको वेश्यालयमा महिला बेचबिखन गर्ने फरार प्रतिवादी ३० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ६७ वर्षीय चमार तामाङ रहेका छन्।
काठमाडौँको चाबाहिलस्थित गलैँचा बुन्ने कारखानामा काम गरिरहेकी युवतीलाई फकाएर २०४४ पुस १९ गते मुम्बईमा लगेर ८० हजार रुपैयाँमा बेचेका थिए। ७ वर्षसम्म वेश्यावृत्ति लगाएको र त्यस क्रममा युवतीलाई टिबी रोग लागेपछि २०५१ माघमा नेपाल फिर्ता गरिएको थियो। पीडितले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा २०५२ फागुन १ गते जाहेरी दिएकी थिइन्।
प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएकोमा २०५२ फागुन ८ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा मुद्दा दर्ता भई थप अनुसन्धानका लागि २०७७ असोज २० गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा सक्कल मिसिल प्राप्त भएको थियो। फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा ब्युरोबाट खटिएको प्रहरी टोलीले तामाङलाई उनकै घरबाट पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।