काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई पदबाट हटाइनुपर्ने माग गरेका छन्। सामाजिक अभियन्तासमेत रहेका वैज्ञानिक पुनले उनलाई पदबाट नहटाउने हो भने ‘देश डुब्ने’ दाबी गरेका छन्। तर मन्त्री खड्काको पार्टी कांग्रेस वा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई हटाउने छाँटकाँट नदेखाएकाले जनआन्दोलन गर्न आह्वानसमेत पुनले गरेका छन्।
वैज्ञानिक पुनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘ऊर्जामन्त्रीजस्तोले दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरूले हटाउने छाँटकाँट देखिएन। बृहत् जनआन्दोलन अन्तिम उपाय देखियो।’ सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएयता ऊर्जामन्त्री खड्काप्रति जनआक्रोश बढेको छ।
घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेयता लोडसेडिङ सुरु भएको भन्दै नागरिकले सरकारको आलोचना गरिरहेका छन्। पुन पनि कुलमान हटाएदेखि नै ऊर्जामन्त्री खड्काप्रति रुष्ट छन्। उता ऊर्जामन्त्री खड्काले भने विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन्।