काठमाडौँ | नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अझै केहि दिन अस्पतालमै रहने भएका छन् । जेनजी आनदोलनका दमन गरेको आरोपमा पक्राउ परेर १३ दिन प्रहरी हिरासतमा रहेका ओली आज मात्रै रिहा भएका हुन् । पक्राउ परेको दिन नै अस्पताल भर्ना भएका उनको पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने भएपछि अझै केहि दिन अस्पतालमै रहने भएका हुन् । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा गृहमन्त्री सुदन गुरुङले उनलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले यथेष्ट कारण देखाउँदै लिखित पत्र दिनुपर्ने भनेपछि १४ चैत मा ओलीलाई गुण्डु निवासबाट प्रहरीले पक्राउ गरेको थियो । पिता मोहनप्रसादको देहान्तपछि घरमा क्रियाकर्म गरिरहेका ओलीको स्वास्थ्य कमजोर बनेको थियो । त्यसअघि उनी निरन्तरको चुनावी धपेडीमा थिए । ओलीको गिरफ्तारीपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण भयो । त्यस परीक्षणका क्रममा ओलीको मुटुको धड्कनमा समस्या देखिएको थियो । त्यसपछि उनलाई शिक्षण अस्पतालको एनेक्स– १’ को बेड नम्बर ५०१ भर्ना गरिएको थियो ।
ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो । प्रहरीले हिरासतमुक्त गरेपछि ओलीले पनि सामाजिक सञ्जालमार्फत आफु केहि दिन अस्पतालमै रहने जानकारी दिएका छन् ।