१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रुख

२८ भाद्र २०८२, शनिबार १५:४६

काठमाडौँ | जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको सङ्ख्यामा साल (सखुवा) का रुख ढालिएका छन् ।

पूर्वपश्चिम राजमार्गबाट बर्दिवास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय २५ वटा सालका रुख ढालिएका डिभिजन वन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बर्दिवास–५ मा पर्ने टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ ।

“गत मङ्गलबारदेखि बिहीबार रातिसम्म यी रुख काटिएको हुनुपर्छ । जेनजी आन्दोलनले सर्वसाधारण र वन कर्मचारीको आउजाउ निकै पातलिएको बेला पारेर रुख ढालिएका हुन्”, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले भननुभयो, “यो जघन्य अपराधमा संलग्नको खोजी भइरहेको छ ।” गढन्ता सडक छेउका नौ र अरु रुख टुटेश्वर सडक छेउका काटेर ढालिएका छन् ।

गत मङ्गलबार केही मान्छे पूर्वपश्चिम राजमार्ग छेउकै वन क्षेत्रभित्रको टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको कार्यालय आगजनी र तोडफोड गर्ने प्रयासमा पुगेको बुझिएको उहाँको भनाइ छ । उनीहरुले सो दिन कार्यालयमा समितिका पदाधिकारी र कर्मचारी देखेपछि तोडफोड नगरे पनि त्यसयता दुई सडक किनार (टुटेश्वर र गणन्ता सडक) छेउका रुख ढालेका हुन सक्ने अहिले उहाँको भनाइ छ ।

शुक्रबार सर्वसाधारण र कर्मचारीको आउजाउ बढेपछि ढालिएका रुख देखिएका हुन् । डिभिजन वन कार्यालयले तत्काल यस घटनामा संलग्नको खोजतलास थालेको छ । “हामीले सुक्ष्म तबरले अनुसन्धान थालेका छौँ, घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्छौँ”ं, डिभिजन वन कार्यालय प्रमुख तथा वरिष्ठ वन अधिकृत मिश्रले भन्नुभयो ।

दुवै सडक छेउका रुख काटिएका हुँदा यो सडक विस्तार प्रयोजनले काटिएका हुन् कि भन्ने वन अधिकारीहरुको अनुमान छ । “सबै रुख सडक छेउकै काटिएका छन् । तस्करले काटेका भए अलिभित्र झट्ट आँखा नपर्ने ठाउँ छान्थे होलान् भन्ने लाग्छ”, मिश्र भन्नुहुन्छ, “यसबारे बर्दिवास नगरपालिकाका जनप्रतिनिधि र गणन्ता तथा टुटेश्वर बस्तीका बासिन्दासँग कुरा बझ्दैछौँ ।”

टुटेश्वर साझेदारी वन उपभोक्ता समिति विसं २०६८ मा बनेको हो । यो वनक्षेत्र ९९८.९८ हेक्टर क्षेत्रफलमा छ । यहाँका ढलापडा (ढलेका, धोद्रिएका र बाढीले बगाएर ल्याएका) रुख डिभिजन वन कार्यालयको प्रत्यक्ष रेखदेखमा साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । यस वनबाट ३० हजार बढी जनसङ्ख्या लाभान्वित छन् । यस साझेदारी वनबाट लाभ लिने गौशाला नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ८ एवं बर्दिवास नगरपालिका–५ का उपभोक्ता छन् । यस वन क्षेत्रमा बहुमूल्य मानिने सालका रुख ४२ प्रतिशतमाथि रहेका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा विभिन्न साझेदारी, सामुदायिक, सागरनाथ वन विकास परियोजना, सरकारबाट व्यवस्थित राष्ट्रिय वन, कवुलियती र धार्मिक वनसहित जम्मा २२ हजार दुई सय ४६ हेक्टर वनक्षेत्र रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । सडक विस्तार, बिजुलीको लाइन विस्तार, पूर्वपश्चिम रेल र अतिक्रमणको चपेटामा वन पर्दै आएको छ ।

विसं २०३६ को जनमतसङ्ग्रहको रापतापको बेलामा निकै वन फडानी भएको वनक्षेत्र नजिकका बस्तीका बुढापाका सम्झन्छन् । प्रत्येकजसो राजनीतिक आन्दोलनको रापतापमा वनक्षेत्र मासिने, फाँडिने र अतिक्रमणको चपेटामा पर्ने गरेको बर्दिवास–५ गणन्ताका बासिन्दा करिब ९० वर्षीय सामाजिक अगुवा धनबहादुर स्याङ्वा सम्झनुहुन्छ ।

विसं २०३६ यता विभिन्न आन्दोलनको समयको सेरोफेरोमा वन फाँडेर बस्ती बसाउने क्रमले राजनीतिक संरक्षण प्राप्त गर्दा यहाँ पाँच हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको वन अधिकारी नै स्वीकार गर्छन् ।

जिल्लामा ७६ सामुदायिक, तीन साझेदारी, एक धार्मिक, राष्ट्रिय वन, कवुलियत वन र सागरनाथ वन विकास परियोजनाका वन प्लट छन् । जसमा सबैभन्दा बढी सामुदायिक वन सात हजार नौ सय ४५, सागरनाथ वन विकास परियोजना छ हजार दुई सय ४५, साझेदारी वन चार हजार सात सय ९१, राष्ट्रिय वन तीन हजार दुई सय ४५, धार्मिक वन २१.०५ र कवुलियती वन १९.३४ हेक्टरमा रहेको डिभिजन वन कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल