५ जेष्ठ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘एनडिसी तेस्रो’ः जलवायु मुद्दामा नेपालको प्राथमिकता

१५ बैशाख २०८२, सोमबार १३:३५

काठमाडौँ | नेपाल विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा शून्य दशमलव एक प्रतिशतभन्दा पनि कम योगदान गर्ने मुलुक हो । आज जलवायु सङ्कटको विश्वव्यापी बहसमा ‘नेट–शून्य उत्सर्जन’ को नारा लिएर नेपाल उभिएको छ । यति थोरै योगदान भएको मुलुकले आफ्नो भविष्य, अस्तित्व र विकासको बाटोमा यो सङ्कटबाट सुरक्षित राख्न नीतिगत प्रयास गर्नु राम्रो विषय हो । तर, यो प्रयासका लागि करिब ८९ अर्ब डलरको लागतमा ‘उत्सर्जन न्यूनीकरण’ योजना बन्छ र ‘जलवायु अनुकूलन’ तथा ‘क्षति–नोक्सानी’ लाई मात्र १० देखि १२ अर्ब अर्थात् आठ भाग जति बजेट छुट्याउने योजना रहेको देखिन्छ । यो विषय हामीमा प्रश्न उठ्छ, के नेपालको प्राथमिकता जलवायु न्यायअनुरूप छ त ? अझै प्रश्न उठ्छ के त्यो पनि अन्तरराष्ट्रिय दबाब र वित्तीय सहायताको परिप्रेक्ष्यमा परिभाषित भइरहेको त छैन ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (प्रारुप) महासन्धि (युएनएफसिसिसी)को पक्ष राष्ट्रहरुको २१औँ सम्मेलनअन्तर्गत पेरिस सम्झौताले विश्वको औसत तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित राख्ने र दुई डिग्री सेल्सिएसभन्दा बढ्न नदिने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्त गर्नका लागि पेरिस सम्झौताको पक्ष राष्ट्रहरुले प्रत्येक पाँच वर्षमा राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गर्नुपर्ने प्रावधान रहेको छ । साथै, पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न यस सम्झौताको धारा १३ ले एक परिष्कृत पारदर्शिता खाका स्थापना गरेको छ । नेपालले सन् २०१६ र २०२० मा पहिलो र दोस्रो राष्ट्रिय निर्धारित योगदान तयार गरी युएनएफसिसिसीको सचिवालयमा पेस गरेको थियो । सन् २०२५ भित्र तेस्रो एनडिसी पेस गरी परिष्कृत पारदर्शिता खाको अङ्गिकार गर्नुपर्ने प्रावधानलाई मध्यनजर गर्दै नेपालले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न जलवायु अनुकूलनसम्बन्धी परिमाणात्मक र नीतिगत लक्षहरु आवधिक रुपमा परिमार्जन गरी तेस्रो एनडिसी तपार पारेको हो ।

तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी तेस्रो) हेर्दा नेपालको प्राथमिकतामा कार्बन उत्सर्जन न्यूनीकरणलाई प्राथमिकतामा राखेको देखिन्छ । चालीस पृष्ठको कार्ययोजनामध्ये २२ पृष्ठ ‘मिटिगेसन’मा नै केन्द्रित देखिन्छ । जबकि अनुकूलन कार्ययोजनाका लागि जम्मा पाँच पृष्ठमा समेटिएको छ । साथै क्षति र नोक्सानीलाई मात्र दुई पृष्ठ छुट्याइएको छ । यस्तो असन्तुलनले नेपालको प्रतिबद्धतामा जलवायु सङ्कटको वास्तविकता र प्राथमिकताको गहिरो विरोधाभास देखाउँछ । नेपाल विश्वका १०औँ सबैभन्दा जलवायु संवेदनशील देशहरूमध्ये पर्दछ । हरेक वर्ष बाढी, पहिरो, डढेलो, असिनापात, चरम सुक्खा र असामान्य मौसमी घटनाबाट जनधनको ठूलो क्षति भोगिरहेको छ । हामी जिउँदो सङ्कटको भोगाइमा भएकाले जलवायु अनुकूलन र क्षति–नोक्सानी न्यूनीकरणभन्दा पनि तत्कालीन आवश्यकता हुन् ।

सरकारले तयार पारेको एनडिसी हेर्दा ‘भोगाइ’ भन्दा ‘देखाइ’ लाई प्राथमिकता दिइएको देखिन्छ । तेस्रो एनडिसीको रणनीति हेर्दा नेपाल ‘जलवायु हिरो’ बन्ने दौडमा सहभागी भएको छ, तर आफ्ना नागरिकहरूको जीवन र जीविकाको सुरक्षा गर्ने दौडमा भने पछि परेको स्पष्ट छ । सरकारले जनताको जीवन र जीविकाभन्दा पनि विश्वसामु आफूले कार्बन उत्सर्जनमा गरेको न्यून योगदान शून्यमा झार्ने रणनीतिलाई प्राथमिकतामा राखेको छ । आफ्नो मुलुकका जनताको हितमा काम गर्नेभन्दा पनि नगरेको दोषको रोकथाममा बढी कार्ययोजना बन्नुले यसलाई महत्वकाङ्क्षी मान्न सकिन्छ ।
एकातिर विकसित मुलुकहरूले विकासोन्मुख राष्ट्रहरूलाई सधैँ हरित अर्थतन्त्रको सल्लाह दिइरहन्छन् । अर्कोतर्फ, उनीहरू आफ्नै उत्सर्जन घटाउने प्रतिबद्धतामा पछि परेका छन् । अमेरिका, युरोपेली युनियन र चीन जस्ता मुलुकहरूले आजसम्म विश्वको करिब ७० प्रतिशतसम्म उत्सर्जन गरेका छन्, तर जलवायु वित्तको क्षेत्रमा उनीहरूको योगदान अपेक्षाकृत न्यून छ । सबैभन्दा बढी उत्सर्जनमा योगदान गरेका मुलुकहरुले त्यसलाई रोकथाम गर्ने विषयमो कार्ययोजना बनाउन नसकेको अवस्थामा नेपालले भने सबैभन्दा पहिला हुने नाममा जीवन र जीविकाको सुरक्षा गर्ने अनुकूलनका कार्यक्रमलाई न्यून प्राथमिकतामा राखेको छ । नेपालमा उत्पन्न भएको जलवायुजन्य जोखिमहरुका रुपमा थामेको बाढी, मनाङ, मुस्ताङको बाढी पहिरो, गत वर्ष असोजमा गएको बाढीपहिरोका घटनालाई लिनुपर्ने हुन्छ । यी र यस्ता घटनाको अनुसन्धान गरी जोखिम न्यूनीकरणभन्दा पनि अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राखेर तत्काल कार्यान्वयनमा जानुपर्ने स्थिति रहेको छ ।

विकसित मुलुकहरूले तय गरेका नीतिहरू चाहे त्यो पेरिस सम्झौताको ‘भोलन्टरी’ एनडिसी होस् वा ग्रिन क्लाइमेट फन्डको मोडालिटी, प्रायः विश्वका राष्ट्रहरूका लागि नीतिगत साँचो बनिरहेका छन् । तर जब त्यही मोडेल विकासोन्मुख राष्ट्रमा ‘कपीपेष्ट’ गरिन्छ, तब त्यो असमान शक्ति संरचना र स्रोतको सन्दर्भमा न्यायोचित हुँदैन । नेपालको तेस्रो एनडिसीमा उत्सर्जन न्यूनीकरणमा गरिएको ठूलो लगानीको कारण प्रस्ट हुन्छ कि यो एकातिर अन्तरराष्ट्रिय फन्डको आकर्षण हो भने अर्कोतर्फ विश्व मञ्चमा नेपालको ‘हरित’ प्रतिबद्धता देखाउने प्रयास हो । सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादभन्दा अगाडि नै तेस्रो एनडिसी पेस गर्ने तयारी गरेको छ । यसमा पर्याप्त छलफल आवश्यक छ । अझ यसमा धेरै बहस चलाइनुपर्दछ । नेपालको अवश्यकताको विषयलाई प्राथमिकतामा राखिने व्यवस्था मिलाउनु आवश्यक छ ।

नेपालका लागि अनुकूलन रणनीति कुनै वैकल्पिक नभई अस्तित्वको आवश्यकता हो । एनडिसी तेस्रोमा प्रस्तुत गरिएको अनुकूलन योजना व्यापक जस्तो देखिए पनि त्यसमा स्पष्टता, गम्भीरता र लगानीको अभाव प्रस्ट देखिन्छ । दस्तावेजमा उल्लेख भएजस्तै, कृषिमा जलवायु स्मार्ट प्रविधिको प्रयोग, वन व्यवस्थापनमा सामुदायिक सहभागिता, सहरी क्षेत्रको हरियालीकरण जस्ता उपायहरू आवश्यक छन् । तर यिनीहरूलाई कार्यान्वयन गर्न न त पर्याप्त स्रोत विनियोजन गरिएको छ, न त तिनको आन्तरिक समन्वय स्पष्ट छ । जलवायु असर सबैभन्दा बढी विपन्न, महिला, जनजाति, साना किसान, आदिवासी र अपाङ्गता भएका समुदायहरूमा पर्ने गर्दछ । तर त्यही वर्गका लागि लक्षित कार्यक्रमहरू अनिश्चित र छरिएका छन् । यस्तो बेला ‘जलवायु न्याय’ व्यवहारमा नभई केवल भाषणको मुद्दा बन्न पुग्छ ।

अनुकूलन र न्यूनीकरण परस्पर विरोधी रणनीति होइनन् । तर नेपालले एनडिसी तेस्रोमा न्यूनीकरणलाई अतिरञ्जित प्राथमिकता दिएर नीतिगत सन्तुलन गुमाएको देखिन्छ । सन् २०३० भित्र ५० प्रतिशत नवीकरणीय ऊर्जा, २५ प्रतिशत विद्युतीय सवारीसाधन, १५ प्रतिशत हरित भवन निर्माणजस्ता लक्ष्यहरू महत्वाकाङ्क्षी छन् । तर जब यी लक्ष्यहरू हासिल गर्न ८० प्रतिशतभन्दा बढी बजेट छुट्याइन्छ, अनि जलवायु विपद्को तत्कालीन असरसँग लड्ने उपायहरू पछि परेका छन् । यसैकारण यो नीतिगत कार्ययोजना नै कमजोर हो भन्ने पुष्टि गर्दछ । नेपालजस्ता मुलुकका लागि जलवायु योजना प्रतिकात्मक अनुपालन मात्रमा सीमित नभई अस्तित्व उन्मुख हुनुपर्छ ।

जलवायु नेतृत्व कि अभिनय ?
नेपालले हालैका वर्षहरूमा जलवायु सम्मेलनहरूमा सक्रिय उपस्थिति देखाएको छ । ग्लासगोमा प्रधानमन्त्रीको भाषणदेखि लिएर अजरबैजानसम्मको प्रतिनिधिमण्डलमा उपस्थिति उल्लेखनीय थियो । तर त्यस्तो उपस्थितिले जब राष्ट्रिय नीतिमा मेल खान्न, तब त्यो ‘अभिनय’ को झल्को दिन थाल्छ । हरेक वर्ष वार्षिक भ्रमणमा निस्कने सरकारी प्रतिनिधिमण्डलले बढी प्रभावित भएको मुलुकको हैसियतमा नेतृत्व गरेर अगाडि बढ्न सकिरहेको छैन । सरकारले असम्बन्धित व्यक्तिहरुलाई भ्रमण गराउने कार्यक्रममा मात्रै सीमित भएको सम्मेलनहरुलाई फलदायी बनाउने र आफ्ना एजेन्डाहरुलाई विश्वका लिडरहरुको सामू निडर भएर राख्न सक्ने हुनु आवश्यक छ । हानि, नोक्सानी र क्षतिको व्यवस्थाका लागि मुलुकभित्र नै नीतिगत सुधार गरी अध्ययन अनुसन्धान गरिनुपर्नेमा सरकारले त्यसतर्फ कुनै चासो देखाएको छैन । वन तथा वातावरण मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरु विदेश भ्रमणमा मात्रै केन्द्रित हुने तर उपलब्धि शून्य हुने परिस्थिति रहेको छ । यो विगतदेखि नै चलिआएको चलन जस्तो भएको छ । हामीले यसलाई सुधार गरेर अगाडि बढ्नु आवश्यक छ । हामीले विश्वमा जलवायु जोखिम भएका मुलुकहरुको नेतृत्व गर्नेगरी अगाडि बढ्नु आवश्यक छ । अहिलेसम्म सरकारका तर्फबाट अभिनयमात्र भइरहेको छ ।

‘नेट शून्य उत्सर्जन’ को लक्ष्य राम्रो छ, तर के त्यो उपलब्धि उन्मुख छ ? वा त्यो पनि ‘अनुदान–उन्मुख’ ? नेपालले यदि नेतृत्व दिन खोजेको हो भने त्यो व्यवहारमा देखिनुपर्छ । उदाहरणका रुपमा स्थानीय सरकारहरूलाई जलवायु नीति निर्माणमा अधिकार दिइएको छ वा छैन ? भन्ने विषयमा सोच्नुपर्दछ । स्थानीय सरकारले आफू अनुकूलको जलवायु नीति निर्माण गर्ने अधिकारभन्दा पनि सङ्घीय नीतिलाई नै अवलम्बन गर्नुपर्ने बाध्यता रहेको छ । अनुकूलन बजेट विपद्को जोखिमका आधारमा विभाजन गरिएको छ कि छैन ? भन्ने विषयलाई विशेष ख्याल राख्नुपर्दछ । हामीकहाँ मनसुनजन्य विपद्सँगै जलवायुजन्य जोखिम बढिरहेको छ । गत वर्षको असोजमा गएको बाढी पहिरोले ठूलो जनधनका क्षति पुगेको थियो । यसलाई कम गर्नेतर्फ स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गरी अनुकूलन बजेट प्रदान गरिनुपर्दछ । हानि तथा नोक्सानी कोषमा पहुँच सहज र पारदर्शी छ कि छैन ? भन्ने प्रश्नको उत्तर अस्पष्ट हुन्छ, तब सन्देशभन्दा बढी सङ्कल्प आवश्यक देखिन्छ ।

एनडिसी तेस्रोको समावेशी प्रयासः आशा र चुनौतीबीच नेपालले जलवायु परिवर्तनसँग जुध्नका लागि यो एउटा रणनीतिक दस्तावेज हो जसमा उत्सर्जन न्यूनीकरण, जलवायु अनुकूलन, वित्तीय तथा संस्थागत प्रबन्धको खाका प्रस्तुत गरिन्छ । तर एनडिसी तेस्रोको चर्चा केवल कार्बन कटौतीमा सीमित छैन । यसले समावेशिता, सामाजिक न्याय र दिगो विकासलाई पनि केन्द्रीय विन्दु बनाउने सङ्केत दिएको छ ।

एनडिसी तेस्रोले महिला, युवा, दलित, जनजाति र विपन्न समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ । योजनाको निर्माण र अनुगमन प्रक्रियामा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । जलवायु कार्यक्रमहरू सामुदायिकस्तरमै कार्यान्वयन गर्नुपर्ने स्पष्ट मान्यता दिइएको छ, जुन सैद्धान्तिक रूपमा जलवायु न्यायसँग मेल खान्छ । यसले जलवायु शिक्षालाई औपचारिक प्रणालीमा समावेश गर्ने प्रयास गरेको देखिन्छ । तर यसका लागि कार्ययोजना भने स्पष्ट रुपमा उल्लेख गरिएको छैन । विद्यालय तहदेखि नै जलवायु परिवर्तनसम्बन्धी शिक्षा समावेश गर्ने नीति राखिएको छ । वातावरणीय साक्षरता बढाउन पाठ्यक्रम, शिक्षक तालिम र शैक्षिक सामग्री विकास गरिने भनिए पनि यसको प्रत्युत्पादन कस्तो हुने भन्ने स्पष्ट बनाउनु आवश्यक छ । यसले दीर्घकालमा सचेत नागरिक निर्माणमा योगदान गर्नेछ ।

ग्रामीण युवालाई लक्षित गर्दै हरित स्टार्टअप, बायो–फेर्टिलाइजर, सौर्य ऊर्जा, रिसाइकल उद्योग, पर्या–पर्यटनलगायतका क्षेत्रमा लगानी गर्ने नीति बनाइएको छ । निजी क्षेत्रलाई जलवायु स्मार्ट कृषि र नवीकरणीय ऊर्जा क्षेत्रमा आकर्षित गर्न कर छुट तथा वित्तीय प्रोत्साहनका कुरा गरिएका छन् । यसका लागि जलवायु न्यायप्रतिको नीतिगत स्वीकृति आवश्यक पर्दछ । जलवायु परिवर्तनको असर सबैलाई एउटै हुन्छ भन्ने दृष्टिकोणलाई अस्वीकार गर्दै एनडिसी तेस्रोले असमान असरको कुरा उठाएको छ । यो मान्यता नीतिगत तहमा समावेश हुनु आफैँमा सकारात्मक प्रगति हो । तर यी आशाहरू कार्यान्वयनमा भने शङ्का उत्पन्न हुन्छ । कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट आन्तरिक बजेटको प्राथमिकतामा पर्न सकिरहेको छैन ।

प्रदेश र स्थानीय तहमा कार्यान्वयन गर्ने जिम्मेवारी दिइए पनि त्यसका लागि स्पष्ट योजना, स्रोत र क्षमता विकास नहुँदा नीति ‘थप बोझ’ बन्ने खतरा छ । उदाहरणका लागि, जलवायु शिक्षा समावेश गर्ने भनिए पनि शिक्षा मन्त्रालय, विद्यालय प्रशासन र शिक्षकबीच तालमेल कसरी कायम गरिने भन्ने विषय स्पष्ट छैन । यसैगरी वित्तीय स्रोतको सीमितता पनि अर्को चुनौती हो । एनडिसी तेस्रोका लक्ष्यहरू पूरा गर्न ठूलो मात्रामा वित्तीय लगानी आवश्यक छ, तर सरकारले आन्तरिक स्रोतको सुनिश्चित नगरेको अवस्थामा अन्तरराष्ट्रिय सहायता र अनुदानमा मात्र भर पर्ने अवस्था छ । यसले नीति कार्यान्वयनलाई अनिश्चित र अस्थायी बनाउने जोखिम छ ।

यसैगरी एनडिसी कार्यान्वयनमा स्थानीयताको अभाव स्पष्ट देख्न सकिन्छ । सबै प्रदेशमा एउटै रणनीति लागू गर्ने प्रवृत्तिले स्थान विशेषका आवश्यकतालाई बेवास्ता गर्ने खतरा छ । जस्तै, कर्णाली र सुदूरपश्चिममा पहुँच, विपद् जोखिम र गरिबीको स्वरूप फरक छ । त्यहाँको जलवायु नीति पनि त्यसैअनुसार हुनुपर्ने हो । समावेशी सहभागिता बोल्न भन्दा पनि कार्यान्वयनमा चुनौती देखिन्छ । नीतिमा सहभागिता भनिए पनि त्यो कागजी हो कि वास्तविक यो प्रश्न बहसमा नै छ । प्रतिनिधित्व मात्र हैन, निर्णय निर्माणमा प्रभाव पार्ने स्तरमा महिलाहरू, युवाहरू र दलितहरू छन् कि छैनन् नहेरी समावेशीता सुनिश्चित भएको मान्न सकिँदैन ।

कार्यान्वयनको यथार्थ ः वित्त, समन्वय र क्षमता
एनडिसी तेस्रोको प्रभावकारिता तब मात्र मूल्याङ्कन गर्न सकिन्छ जब कार्यान्वयन पक्ष बलियो हुन्छ । तर यहाँ पनि केही चुनौतीहरू देख्न सकिन्छ । जलवायु परियोजनाहरूमा ८९ अर्ब डलर खर्चको अनुमान गरिएको छ, तर यो रकम कहाँबाट आउँछ भन्ने अझै अनिश्चित छ । आर्थिक व्यवस्थापनको विषयमा तयारी नगरी अगाडि बढ्न सकिने अवस्था छैन । स्थानीय तहहरूमा योजना निर्माण र कार्यान्वयनका लागि आवश्यक तालिमको अभाव छ । मन्त्रालयहरूबीच समन्वय कमजोर छ । मुलुकमा राजनीतिक अस्थिरताविना दीर्घकालीन योजना सम्भव हुँदैन ।

विकल्प र सुझावहरू ः
सम्भाव्य सुधारका बाटाहरू खोज्नु आवश्यक छ । नेपालले एनडिसी तेस्रोलाई जलवायु न्यायको वास्तविक दस्तावेज बनाउने हो भने आवश्यक सुधार कार्यक्रम ल्याउनु आवश्यक छ । अनुकूलन, न्यूनीकरण र हानी नोक्सानीबीच समानुपातिक प्राथमिकता निर्धारण गर्नुपर्दछ । यस्तै जलवायु वित्तीय योजना पारदर्शी, समावेशी र नतिजामुखी बनाउन सरकारले पहल गर्नुपर्दछ । स्थानीय सरकार र समुदायलाई क्षमता अभिवृद्धि र बजेट स्वामित्व दिने काम हुनुपर्दछ । सङ्घीयता कार्यान्वयनका लागि पनि यो अत्यावश्यक छ । सरकारले अनुदान वा ऋणमा आधारित योजनाभन्दा स्वदेशी स्रोत र हरित नवप्रवर्तनको उपयोगमा जोड दिनुपर्ने हुन्छ । सरकारले सन्देश दिने नभई परिणाम देखाउने व्यवहारमा परिवर्तन विशेषतः नीति कार्यान्वयनमा विशेष ध्यान दिनु आवश्यक छ ।

‘हामी पनि जलवायु समाधानको हिस्सा बन्न तयार छौं’ भन्ने सन्देश नेपालले आफ्नो एनडिसी तेस्रोमार्फत अन्तरराष्ट्रिय समुदायलाई दिएको छ । तर यो सन्देश वास्तविकताभन्दा छवि केन्द्रित भयो भने त्यसले जलवायु न्यायलाई कमजोर बनाउँछ । जलवायु सङ्कट केवल एक पर्यावरणीय मुद्दा मात्रै होइन । यो त सामाजिक, आर्थिक र राजनीतिक न्यायसँग गाँसिएको मुद्दा हो । नेपालले यदि साँच्चिकै जलवायु नेतृत्व लिन खोजेको हो भने, त्यो नेतृत्व दस्तावेजबाट होइन, व्यवहारबाट प्रमाणित हुनुपर्छ । हामीले अब चुप लाग्ने होइन, आफूभित्र हेर्ने र सन्तुलन मिलाउने समय हो । जलवायु सङ्कट हाम्रो छालामा छ । खोला, गाउँ, खेत, बस्तीमा छ । त्यसलाई गन्ने होइन, बुझ्ने र सामना गर्ने नीति बनाऔँ । (लेखक वातावरण पत्रकार हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऊर्जामन्त्री खड्का र युएईका सहायक विदेशमन्त्रीबीच भेटवार्ता सगरमाथा संवाद : परिकल्पनाको आठ वर्षपछि साकार भएको विश्व मञ्च गाजामा धेरै मानिस भोकमरीमा छन् : ट्रम्प युक्रेनमा शान्ति कायम गर्नका लागि बेवास्ता गरेकोमा पुटिनले मुल्य चुकाउनु पर्छ: स्टार्मर प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँः राष्ट्रपति ट्रम्प मिश्रको बहस सकियाे ,आदेश आउन बाँकी गाजामा अब क्यान्सरको उपचार असम्भब :डब्लुएचओ अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता परराष्ट्रमन्त्री डा राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता नेपाललाई भारतको २ वटा बन्दरगाहबाट सबै सामान ल्याउन छुट प्रधानमन्त्रीसँग बङ्गलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता रवि र छविलाई सुनुवाइको जानकारी चाँडो पठाउनु :उच्च अदालत देउवा र माओवादीका उपमहासचिव शर्माबीच भेटवार्ता, समसामयिक विषयमा छलफल