टिप्स- महिनावारी हुने बेलामा धेरै पेट दुख्नेगर्छ। महिनावारी बारे आवश्यक ज्ञान नहुँदा किशोरीले असजिलो महसुस गर्नुका साथै अफ्ठेरो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ। प्रायःकिशोरीहरुमा १३–१४ वर्षदेखि १७–१८ वर्ष सम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन। महिनावारीको समयमा कहिले– कसैलाई धेरै रक्तश्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तश्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ।

सुरुमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरूपमा विकास भएको हुँदैन। त्यसले गर्दा महिनावारीका बेला विभिन्न समस्या आउने गर्छ।

कतिपय आमाहरूले आफ्ना छोरी लिएर आउनुहुन्छ चार महिना भयो महिनावारी भएको छैन अनि कतिपय आउनुहुन्छ एक महिनादेखि रक्तश्राव भइरहेको छ भनेर। यदी महिनावारी लामो समयसम्म भएन अथवा लगातार पाँच दिनभन्दा बढी रक्तश्राव भयो भने त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्न जरूरी हुन्छ।

यस्तो बेलामा थाइराइडको समस्या छ कि छैन भनेर आवश्यक परीक्षण गराउनुपर्दछ। कुनै किशोरी धेरै रक्तश्राव भयो भनेर आउँछन् त्यस्तो बेलामा उनीहरुको हेमोग्लोबिन अर्थात शरीरमा रगतको मात्रा कम भइसकेको हुन्छ। यस्तो हुनुको कारण उनीहरूसँग यसको आवश्यक ज्ञान र बुझाई कमजोर भएर नै हो। य

दि ४–५ दिन भन्दा बढी समयदेखि लगातार रक्तश्राव भइरहेको छ, दैनिक ३–४ वटा भन्दा बढी प्याड प्रयोग गर्नु परेको छ र आफ्नो नियमित काममा समस्या भएको छ भने यस्तो बेलामा तुरुन्तै बिशेषज्ञ चिकित्सक कहाँ पुगेर स्वास्थ्य परीक्षण गराई आवश्यक परामर्श लिनु जरूरी हुन्छ।

कतिपय ग्रामीण भेग र स्वास्थ्य सेवामा सहजै पहुँच नभएको ठाँउमा बिशेषज्ञ चिकित्सक नभए पनि उपलव्ध स्वास्थ्यकर्मीसँग आफ्नो समस्याबारे परामर्श गरी स्वास्थ्य परीक्षण गराउन सकिन्छ।

किशोरी अवस्थामा महिनावारीका बेला धेरै रक्तश्राव हुने समस्याबारे पर्याप्त ध्यान नदिए शरीरमा हेमोग्लोबीनको मात्रा कम भई समग्र शारीरिक तथा मानसिक विकासमा समेत असर पर्छ। यसले गर्दा दिर्घकालमा विभिन्न स्वास्थ्य समस्यासमेत निम्तिन सक्ने जोखिम हुन्छ।

महिनावारीको बेला पेट दुख्दैमा आत्तिहाल्नु पर्देन

महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो। यस्तो बेलामा किशोरीहरू धेरै पेट दुख्ने समस्या लिएर आउने गरेका छन्। किशोरी अवस्थामा महिनावारी हुँदा पेट दुख्नु नराम्रो लक्षण होइन। डिम्बाशयमा अण्डा बनेर फुट्ने क्रम चलिरहेको कारणले गर्दा पेट दुख्छ। जुन महिनामा अण्डा बन्ने र फुट्ने प्रक्रिया सुरु हुन्छ त्यो महिनामा बढी पेट दुख्ने गर्छ।

यसले किशोरीलाई एकदमै धेरै पीडा दिन्छ तर यो राम्रो संकेत हो। जुन किशोरीलाई महिनावारीको समयमा पीडा हुन्छ त्यस्ता किशोरीको प्रजनन क्षमता राम्रो हुन्छ, त्यसैले महिनावारीमा पेट दुख्नुलाई नराम्रो मान्नु हुँदैन। अण्डा बन्ने र फुट्ने प्रक्रिया नहुने महिलालाई महिनावारीको समयमा पीडा हुँदैन र महिनावारी समेत नियमित हुँदैन। त्यस्ता महिलाको दिर्घकालमा प्रजनन क्षमता त्यति सुखद् भएको पाइदैन।

त्यसका लागि बेलेमै बिशेष चिकित्सकसँग आवश्यक परामर्श र स्वास्थ्य परीक्षण गराएर भविष्यमा निम्तिन सक्ने जोखिमलाई हटाउन सकिन्छ। जुन महिलाहरूमा शुरुका दिनमा महिनावारीका बेला पेट नदुख्ने तर पछि पेट दुख्ने समस्या भयो र रक्तश्राव बढी हुन थाल्यो भने त्यो रोगको लक्षण हो। त्यस्तो अवस्थामा तुरुन्तै बिशेषज्ञ चिकित्सकसँग परीक्षण गराउनुपर्छ।

एजेन्सी

July 16, 2018
काठमाडौँ - KTM, टिप्स
महिनावारीको बेला पेट दुख्छ ? आत्तिनुपर्दैन, यस्ता छन् फाइदा
By kit
7 मिनेट पढाइ