२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा पर्यटकलाई समेत लक्षित गर्दै अत्याधुनिक मन्दिर

२०७४, ७ माघ आईतवार ०७:२७

 नारायण अधिकारी / माघ ७, चितवन | नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । 

रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट ६ किलोमिटर दूरीमा रहेको सो स्थलमा अत्याधुनिक भव्य मन्दिरसँगै यज्ञ मण्डप, विवाह मण्डप, वृद्धाश्रम, भोजनालय, पानीका फोहोरा सहितको मनोरम दृश्य स्थल बनाइएको हो । मुख्य मन्दिरभित्र राधाकृष्णको मूर्तिसहित आधुनिक र परम्परागत रुपमा कुँदिएका झ्याल–ढोका, भित्तामा कुँदिएका धार्मिक, मनोरम दृश्य सहितको सुन्दरता रहेको छ । 

श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाले मन्दिरलाई परम्परा र आधुनिकताको संयोजन गरी भव्य रुपमा निर्माण गरेको हो । पूर्व–पश्चिम राजमार्गको भानुचोकबाट ३.५ किलोमिटर उत्तरमा पर्ने उक्त मन्दिर रु पाँच करोडमा निर्माण गरिएको हो । पन्ध्र कट्ठा सात धुर क्षेत्रफलमा रहेको उक्त मन्दिरले केही पर १० कट्ठा जमिनमा विद्यालयसमेत सञ्चालन गर्ने तयारी गरेको छ । मन्दिर परिसरमा रहेको वृद्धाश्रममा अहिले पाँचजना वृद्धवृद्धा रहेका छन् । वृद्धाश्रमलाई अझै व्यवस्थित गरिँदै लाने योजना रहेको मन्दिरको स्वर्ण महोत्सव वर्ष–२०७४ मूल समारोह समितिका संयोजक तिलकराज शर्मा पौडेलले बताउनुभयो । २०२४ सालमा स्थापना भएको मन्दिर जीर्ण बन्दै गएपछि श्रीकृष्ण प्रणामी सेवा समितिले अहिले भव्य मन्दिर बनाएको हो । मन्दिरको आगामी फागुन ६ गते शुभारम्भ गरिने कार्यक्रम रहेको छ । 

फागुन ५ देखि फागुन १२ गतेसम्म श्रीमत् तारतमसागर १०८ पाठपारायण ज्ञान महायज्ञ एवम् श्रीमद् भागवत कथा अनुष्ठान गरिने उहाँले बताउनुभयो । सात दिनसम्म सञ्चालन हुने उक्त अनुष्ठान कार्यक्रममा श्रीकृष्ण प्रणामी धर्मका धर्माचार्य श्री १०८ कृष्णमणीजीको प्रमुख सानिध्य र नेपालका राष्ट्रपति र उपराष्ट्रपतिसमेत उपस्थिति गराउन पहल भइरहेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो समारोहमा नेपाल, भारतलगायत अन्य राष्ट्रबाट समेत सन्त, महन्त, गुरुजनलगायत एक लाख श्रद्धालु भक्तजनको सहभागिता रहनेछ । नवीनतम् प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त मन्दिर निर्माण गर्न श्रीकृष्ण प्रणामी धर्ममा आबद्ध तथा अन्य भक्तजन, व्यक्ति तथा संघसंस्थाको चन्दा सहयोगबाट गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो । 

स्थानीयको मुट्ठीदान तथा चन्दाबाट सञ्चालित मन्दिरले धार्मिक, आध्यात्मिक, शैक्षिक कार्यक्रमसँग पर्यटकीय गतिविधिमा समेत योगदान दिने विश्वास सहसंयोजक श्यामप्रसाद बरालले व्यक्त गर्नुभयो । तेस्रो पर्यटकीय क्षेत्र चितवनको सौराहा आउने पर्यटकलाई जिरौना आउने वातावरण तयार पार्न सके यसले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास बरालले व्यक्त गर्नुभयो । यस मन्दिर भ्रमणका लागि आउने पर्यटकले मनिखोला, बुलबुले ताल, गैँडाताल, शान्तिकुञ्ज पार्क, सिराइचुली, उपरदाङ्गडी लगायतका धेरै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न सक्नेछन् । 

श्रीकृष्ण प्रणामी धर्ममा नेपालमा २० लाख र चितवन जिल्लामा मात्रै २५ हजार अनुयायी रहेका छन् । सामाजिक सेवा, आध्यात्मिक चिन्तन र परा प्रेम लक्षणा भक्ति भन्ने मूल नाराका साथ सञ्चालित श्रीकृष्ण प्रणामी धर्मले मांस, मदिरा, धुम्रपान, मद्यपान लगायतका कूलत त्याग्दै सत्कर्ममा डोर्याउन प्रेरित गर्ने गरेको छ । 

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवं स्थानीयवासी राधेश्याम खतिवडाले हालै मात्र भारतका प्रमुख शहरको भ्रमणका क्रममा मठमन्दिरमा धार्मिक पर्यटकको उल्लेख्य उपस्थिति देखेको भन्दै पर्यटकीय नगरी सौराहासँग यस मन्दिरलाई जोड्न सके जिल्लामा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । मन्दिर क्षेत्रमा अवलोकन र दर्शनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन् । (तस्बीर उपलब्ध छ ।) रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह