२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुस्ताङमा पर्यटकको चाप बढ्दै

२०७६, ३० बैशाख सोमबार ०५:४४

वैशाख ३०, बागलुङ  | मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक मुस्ताङ आएका छन् ।

मुक्तिनाथ क्षेत्र धार्मिक पर्यटनको प्रसिद्ध गन्तव्य हो । म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाइमार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको सङ्ख्या बढी छ । यस्तै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा निस्कने पर्यटक मनाङ हुँदै ‘थोरङ्लापास’ भएर मुस्ताङ आइपुग्छन् । मुस्ताङ छिर्ने अधिकांश पर्यटकले मुक्तिनाथ क्षेत्र घुम्छन् । तीमध्ये केहीले उपल्लो मुस्ताङको यात्रा तय गर्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गएको अङ्ग्रेजी महीना जनवरीदेखि अप्रिलसम्म १६ हजार ५५७ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।

जसमध्ये सबैभन्दा बढी अप्रिल महीनामा १० हजार २२९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । सन् २०१८ को अप्रिलमा  नौ हजार ६१५ विदेशीले मुस्ताङ घुमेका थिए । 

‘मे महीनामा पर्यटक अझै बढ्छन्”, कार्यालयका पर्यटन सहायक प्रेम बस्नेतले भन्नुभयो, “जेठ अन्तिमसम्मै पर्यटकको आउजाउ बढी हुन्छ ।” गत वर्षको मे महीनामा १३ हजार ९९८ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए ।

मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । विदेशीको तुलनामा दोब्बर बढी नेपालीले मुस्ताङको भ्रमण गर्ने बताइन्छ । “अहिले दैनिक सयौं पर्यटक मुस्ताङ आइरहेका छन्”, जोमसोमका होटल व्यवसायी सम्झना रानाले भन्नुभयो, “विदेशीमा बढी भारतीय तीर्थयात्री आउँछन् ।”

पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै मुस्ताङ जाने आन्तरिक पर्यटकको पनि घुईँचो लाग्ने गर्छ । मुक्तिनाथको तीर्थमा जानेदेखि पदयात्रामा रमाउने युवायुवतीको रोजाइमा मुस्ताङ पर्न थालेको हो ।

यहाँको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङी सभ्यता र संस्कृतिले पर्यटकलाई लोभ्याउँछ । वर्षेनी पर्यटक बढेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि बढ्दो छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटककले रात बिताउने गर्छन् । 

कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा आइपुग्ने गर्छन् । यातायातको सहजताले पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको होटल व्यवसायी बताउँछन् । 

म्याग्दी, बेनी हुँदै सडकमार्गबाट बस, जिप र मोटरसाइकलबाट मुस्ताङको यात्रा तय गर्न सकिन्छ । पोखरा–जोमसोम दैनिक हवाई सेवा पनि सञ्चालित छ । 

गएको अङ्ग्रेजी वर्षमा ५९ हजार ८३८ विदेशी पर्यटकले मुस्ताङ घुमेका थिए । यो वर्ष उक्त सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते