२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

कृषि र पर्यापर्यटनलाई जोड्दै शनिश्चरे ताल

२०७७, २८ मंसिर आईतवार ०८:१९

वासुदेव पौडेल । मङ्सिर २८, गण्डकी । गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरको देवचुली नगरपालिका–१ मा पर्ने शनिश्चरे ताललाई कृषि र पर्यापर्यटनको गन्तव्यका रुपमा विकास गरिने भएको छ । दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, शिशबार मध्यवर्ती उपभोक्ता समितिसहितका सङ्घ संस्थाको पहलमा तालको विकास गर्न लागिएको हो । 

विसं २०३८ मा बौलाहा खोलामा आएको बाढीका कारण पुरिएको ताललाई पूर्ववत् अवस्थामा फर्काउन यतिखेर स्थानीयवासी लागिपरेका छन् । यसको संरक्षण र विकासका लागि यतिखेर सङ्घ, प्रदेश र स्थानीय तह सबैले चासो दिएको शिशबार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताउनुभयो । 

तालको संरक्षण र विकासका लागि सङ्घ सरकारबाट प्राप्त रु २० लाख र स्थानीय जनसहभागितासहित कूल रु २४ लाखको लागतमा ताल परिसरको व्यवस्थापन एवं संरक्षणका काम गरिएको उहाँले जानकारी दिनुभयो । पर्यापर्यटनका दृष्टिबाट अत्यन्त महत्वपूर्ण ताल वरपर एक सिङ्गे गैँडा, पाटे बाघ, घडियाल गोहीलगायत विश्वका दुर्लभ वन्यजन्तु देख्न सकिन्छ । नजिकै बगरिहेको नारायणी नदी एवं सिमसारयुक्त स्थान भएका कारण यस क्षेत्रमा ६०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन् ।

शनिश्चरे ताल क्षेत्रमा विभिन्न आठवटा पोखरी निर्माण गरी माछा उत्पादन गर्ने काम भइरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । “हामी तालको संरक्षण र विकाससँगै आयआर्जन बढाउनका लागि माछा उत्पादन तर्फ पनि लागेका छौंं”, उहाँले भन्नुभयो, “कृषि र पर्यापर्यटनको विकास गर्दै शनिश्चरे ताललाई यस क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने दीर्घकालीन लक्ष्य हो ।” तालको विकासका लागि सर्वप्रथम गुरुयोजना तयार गर्ने र रु पाँच÷सात करोडको डिपिआर तयार गर्ने सोच राखिएको उल्लेख गर्दै उहाँले यसका लागि सङघ, प्रदेश र स्थानीय तीनै तहको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

उत्तरतर्फ देवचुली, दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्ज, नजिकै रहेको शास्वत धामले यसको गरिमा र महत्व अझै बढाएको छ । तालमा घुम्न आउने पर्यटकका लागि खान बस्नका लागि नजिकै रहेका सिसबार बोटे माझी होमस्टे र पिप्रहर सामुदायिक होमस्टे रहेको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नवलपुरका संयोजक एवं मध्यविन्दु प्रज्ञा प्रतिष्ठान नेपालका अध्यक्ष जीवनराज सापकोटाले बताउनुभयो । 

नवलपुर क्षेत्रमा आउने पर्यटकका लागि स्तरिय होटेल तथा घरबास सञ्चालनको क्रमले गति लिएको सापकोटाको भनाइ छ । उहाँका अनुसार नवलपुर क्षेत्रमा हाल ११ वटा घरबास सञ्चालनमा आएका छन् । विसं २०३८ को बाढीले पुरिएको ताल पूर्ववत् अवस्थामा आउन लागेको दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवीलाल सापकोटा बताउनुहुन्छ । तालको संरक्षण र विकाससँगै यस क्षेत्रमा पर्यापर्यटनको विकासका पर्याप्त सम्भावनालाई उजागर गर्नुपर्ने उहाँको भनाइ छ । 

“तालमा माछापालन शुरु गरिएका कारण यसले आयआर्जनमा पनि टेवा पु¥याउने छ”, लोपोन्मुख प्रजातिका साथै अन्य वन्यजन्तु पनि पर्याप्त पाइने भएकाले संरक्षणसँगै पर्यापर्यटनमा पनि उत्तिकै टेवा पुग्ने अपेक्षा गरेका छौं ।” ताल पुरानै अवस्थामा फर्कन थालेसँगै स्थानीयवासीलाई पनि उत्साहित बनाएको दिव्य मध्यवर्ती सामुदायिक वनका वन रक्षक धनबहादुर केसीले बताउनुभयो ।

यसैबीच नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजना एवं  नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको प्रवद्र्धनमा हालै गरिएको नवलपुर क्षेत्रको पर्यटन प्रवद्र्धन भ्रमणका क्रममा गण्डकी प्रदेशका भ्रमण वर्ष २०१९÷२२ का संयोजक जुद्धबहादुर गुरुङसहितको टोलीले शनिश्चरे तालको स्थलगत अवलोकन गरेको छ ।

अवलोकनका क्रममा संयोजक गुरुङले शनिश्चरे तालको संरक्षण र विकास गर्दै यसलाई यस क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभयो । “शनिश्चरे तालसहित नवलपुर क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक विभिन्नस्थलको प्रवद्र्धन गर्नु आवश्यक छ,” गुरुङले भन्नुभयो, “यहाँको पर्यटकीय विकासलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेको छ, यसका लागि स्थानीय जागरुकता भने आवश्यक छ ।”

शनिश्चरे ताल वरपर पाइने पर्याप्त सङ्ख्याका वन्यजन्तु, चराचुरुङ्गी आदिले यहाँको पर्यापर्यटकीय विकासका धेरै सम्भावना पाइएको गाउँपर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले बताउनुभयो । नवलपुरमा रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनसँगै पोखरा र आसपासका पर्यटकीय गन्तव्यसँग साझेदारी बढाउनुपर्ने उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने