२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

आन्तरिक पर्यटकको रोजाइ बन्दै गाभर उपत्यका

२०७८, २४ भाद्र बिहीबार ०८:१८

भेषराज बस्नेत। भदौ २४, राँझा (रासस)। कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

नेपाल सरकारले सूचीकृत गरेको प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँके, बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा घरबासमा पाहुना घुम्न आउने गरेका छन् । 

मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबासमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन् । कोरोना महामारीका कारण सुनसान हुन पुगेको गाभर भ्याली सामुदायिक घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको चौधरीको भनाइ छ ।

बाहिरी जिल्लाका साथ साथै तीज पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उहाँले बताउनुभयो । “यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ”, उहाँले भन्नुभयो, “तीज पर्व मान्न गृहजिल्ला बाँके आउनुभएका समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।” काठमाडौँमा इञ्जीनियरिङ अध्यापन गर्दै आउनुभएका नेपालगञ्ज–१० का नरेश श्रेष्ठले दशैँ बिदमा घर आएको बेला घरबासको स्वाद चाख्न गाभर पुगेको बताउनुभयो । काठमाडौँमा बस्दा गाभर घरबासबारे जानकारी पाएकाले अहिले दशैं बिदाको बेला गाभर पुग्ने अवसर मिलेको उहाँले उल्लेख गर्नुभयो ।

यहाँ लगानीसँगै घरबास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार पुराना घरबासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरबास र दुई होटल थपिएका छन् । गाभर भ्याली सामुदायिक घरबासकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याउनुभएको छ । 

घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधासम्पन्न होटलका रूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । “घरबास धेरै भइसकेका छन्, त्यो भन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ”, चौधरीले भन्नुभयो, “पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ ।” विसं २०७० मा सुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरबास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ ।

गाभर भ्याली घरबासमा सुरूका दिनमा रु २०/३० हजारबाट व्यवसाय सुरू गरिए पनि अहिले कुनै घरले रु २० लाख र कुनैले रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ । “हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । यस्ता सवाल उठान गर्ने गाभर भ्याली घरबास एउटा घरबास मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुआत गर्ने स्थल हो”, उहाँले भन्नुभयो, “गाउँमा घरबास स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।” 

बाँकेको पहिलो सामुदायिक गाभरभ्याली घरबासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल