२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

आन्तरिक पर्यटकको रोजाइ बन्दै गाभर उपत्यका

२४ भाद्र २०७८, बिहीबार ०८:१८

भेषराज बस्नेत। भदौ २४, राँझा (रासस)। कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

नेपाल सरकारले सूचीकृत गरेको प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँके, बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा घरबासमा पाहुना घुम्न आउने गरेका छन् । 

मुलुकका अन्य जिल्लाबाट आउने पाहुनाको सङ्ख्या पनि बढ्दो छ । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबासमा दैनिक करिब ५०० पर्यटक पुग्ने गरेका छन् । कोरोना महामारीका कारण सुनसान हुन पुगेको गाभर भ्याली सामुदायिक घरबासमा अहिले आन्तरिक पाहुनाको चहलपहल बढेको चौधरीको भनाइ छ ।

बाहिरी जिल्लाका साथ साथै तीज पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरबासमा घुम्न आउने गरेको उहाँले बताउनुभयो । “यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ”, उहाँले भन्नुभयो, “तीज पर्व मान्न गृहजिल्ला बाँके आउनुभएका समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।” काठमाडौँमा इञ्जीनियरिङ अध्यापन गर्दै आउनुभएका नेपालगञ्ज–१० का नरेश श्रेष्ठले दशैँ बिदमा घर आएको बेला घरबासको स्वाद चाख्न गाभर पुगेको बताउनुभयो । काठमाडौँमा बस्दा गाभर घरबासबारे जानकारी पाएकाले अहिले दशैं बिदाको बेला गाभर पुग्ने अवसर मिलेको उहाँले उल्लेख गर्नुभयो ।

यहाँ लगानीसँगै घरबास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार पुराना घरबासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरबास र दुई होटल थपिएका छन् । गाभर भ्याली सामुदायिक घरबासकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि घरबास विस्तार भएका छन् । च्यामामा करिब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरबास सञ्चालनमा ल्याउनुभएको छ । 

घरबासभन्दा अलि फरक तरिकाले अझ सुविधासम्पन्न होटलका रूपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । “घरबास धेरै भइसकेका छन्, त्यो भन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ”, चौधरीले भन्नुभयो, “पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ ।” विसं २०७० मा सुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरबास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ ।

गाभर भ्याली घरबासमा सुरूका दिनमा रु २०/३० हजारबाट व्यवसाय सुरू गरिए पनि अहिले कुनै घरले रु २० लाख र कुनैले रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ । “हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । यस्ता सवाल उठान गर्ने गाभर भ्याली घरबास एउटा घरबास मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुआत गर्ने स्थल हो”, उहाँले भन्नुभयो, “गाउँमा घरबास स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।” 

बाँकेको पहिलो सामुदायिक गाभरभ्याली घरबासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान