यसै समर पीएसजी छाडेर बार्सिलोना फर्कदै मेस्सी !

Posted on: 04 Apr, 2023

एजेन्सी | लियोनेल मेसीले यसै समर क्लब छोड्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्। उनको परिवार यसै समर उनलाई बार्सिलोनामा देख्नका लागि आँतुर रहेको भन्दै क्लबले पनि उनलाई भित्र्याउन प्रयास गरिरहेको दाबी गरिएको छ।

बार्सिलोनाले उनलाई वार्षीक सम्झौताको २५ प्रतिशत तलब कटौती प्रस्तावसहित कुल २५.६ मिलियन पाउन्ड प्रतिवर्ष दिने गरी सम्झौता गर्ने तयारी गरेको जनाइएको छ।

यद्यपि, मेसीले विश्वकप जितेसँगै अर्को एक वर्ष पिएसजीमा रहन सहमत भएको भन्दै सम्झौताको प्रक्रिया अघि बढाएको थियो। तर उनले मनस्थिति बदलेको भन्दै यसै समरमा पिएसजी छोड्न सक्ने जनाइएको छ।

विश्वकपका दौरान ३५ वर्षीय मेसीले अर्जेन्टिनालाई ऐतिहासिक उपाधि जिताउँदा पिएसजीका अध्यक्ष नसरी अल खालिफाले उनका बुबा जोर्गेसँग मेसीसँगको सम्झौता नवीकरणको प्रस्ताव गरेका थिए। उनका बुवाले पनि मेसीले सम्झौता नवीकरण गर्नसक्ने विश्वास व्यक्त गरेका थिए।

तर, फ्रान्सको प्रतिष्ठित अउटलेट लिक्विपले मेसी र पिएसजीबीचको सम्बन्धविच्छेद हुने चरणमा रहेको जनाएको छ। दुबैले सहमतिमा नै नयाँ कदम चाल्न लागेको जनाइएको छ।

मेसीको परिवार उनलाई बार्सिलोनामा नै आउनका लागि आग्रह गरिरहेको छ। उनले पिएसजी जानुअघि आफ्नो करिअरको अधिकांश समय बार्सिलोनामा नै बिताएका छन्।

मेसीलाई बार्सिलोनाले फाइनेन्सियल फेयर प्लेका कारण वार्षीक २५.६ मिलियन पाउण्डको २५ प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको जनाइएको छ। पछिल्लो समय उनको सम्झौता सकिने मिति नजिकिएसँगै उनको आगामी भविष्यबारेमा अनेकन अड्कलबाजीहरु भइरहेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!