असार १६, एजेन्सी | पश्चिमी केन्याको लन्डियानीमा भयानक लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लन्डियानीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शी र स्थानीय प्रहरीले बताएका छन्। दुर्घटनापछि ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएको छ ।
दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको उनले बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिए, उनले भने । उनका अनुसार करिब २० वटा शव आफ्नै आँखाले देखेको बताए । यस क्रममा अन्य धेरै शव पनि सवारीसाधन मुनि थिए ।
लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेको छ । ज्यान गुमाउनेमा पैदल यात्रुसहित युवा तथा व्यवसायी रहेका छन् ।
केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।