नेपालका लागि भारतले छुट्टयायो ११ अर्ब २० करोड बजेट

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौँ | भारत सरकारले नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ । बिहीबार वित्त वर्ष २०२४/२५ का लागि ४७.६६ लाख करोड अनुमानित बजेट ल्याएको भारत सरकारले विदेश नीति (क्षेत्र)का लागि अनुदान र ऋण सहायता शीर्षकमा ८६ अर्ब ३२ करोड २० लाख भारु छुट्टाएको हो । 


जसमध्ये छिमेकी मुलुक नेपालका लागि ७ अर्ब भारु अर्थात ११ अर्ब २० करोड रुपैयाँ छुट्टाएको छ । अघिल्लो वित्त वर्ष २०२३/२४ का लागि नेपालका लागि भारतले ६५० करोड भारु (१० अर्ब ४० लाख रुपैयाँ) छुट्टाएको थियो । उक्त आर्थिक सहायता ऋणमा नभएर अनुदान (ग्रान्ट) मा रहने समेत भारत सरकारले बताएको छ । 

कुन देशलाई कति आर्थिक सहयोग ?

बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपालसहित दक्षिण एसियाली ७ वटा देशसहित अन्य विकास उन्मुख देशहरू अफ्रिकन, ल्याटिन अमेरिकन र युरोपियन देशहरूका लागि समेत आर्थिक सहयोग गर्ने गरी बजेट छुट्टाएको छ । 

नेपालका लागि ७ अर्ब भारु बजेट छुट्टाएको सरकारले भुटानका लागि ९८९.७० करोड भारु ऋणसहित १० अर्ब ७८ करोड ८६ लाख भारु अनुदान गरी कूल २० अर्ब ६८ करोड ५६ लाख भारु आर्थिक सहायता गर्ने जनाएको छ । 

अघिल्लो वर्ष ऋण र अनुदान गरी भारत सरकारले भुटानका लागि २३ अर्ब ९८ करोड ९७ लाख भारु प्रदान गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष भारतले भुटानका लागि आर्थिक सहायता घटाएको हो ।  यस्तै, श्रीलंकाका लागि यो वर्ष भारत सरकारले ७५ करोड भारु मात्र छुट्टाएको छ । अघिल्लो वर्ष उक्त मुलुकका लागि भारतले ६० करोड विनियोजन गरेको थियो । 

यस्तै, माल्दिभ्सका लागि ६ अर्ब, मङ्गोलियाका लागि ५ करोड, बङ्गलादेशका लागि १ अर्ब २० करोड भारु छुट्टाएको भारत सरकारले अफगानिस्तानका लागि २ अर्ब भारु छुट्ट्याएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!