२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू

२०७७, ११ चैत्र बुधबार ०९:१०

चैत ११, मेक्सिको सिटी । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नु भएको छ । 

अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिनु भएको छ । 

मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उहाँको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ ।”ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताउनु भएको छ । राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डसँग मेक्सिको सिटीमा वार्ता गरेपछि ज्याकोब्सनको अडियो सार्वजनिक गरिएको हो । 

आर्थिक सङ्कट, अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् । 

बालबच्चा सहित ठूलो संख्यामा मानिसहरु कैयौं दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा कृयाशील सङ्घसंस्थाले जनाएका छन् ।ज्याकोब्सनले सन्देशमा मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठिनाइपूर्ण रहेको बताउँदै मानव तस्करहरुले सीमापार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा रहेको बताउनु भएको छ ।

यसबाहेक, विश्वभर नै कोरोनाभाइरसको महामारी फैलिइरहेको अवस्थामा ठुल्ठूलो समूहमा हिँड्दा वा शिविरमा बस्दा कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा अरु बढ्ने बताउँदै उहाँले आप्रवासी प्रक्रियाका बारेमा बढीभन्दा बढी जानकारी लिन र सुरक्षित रहन आग्रह गर्नु भएको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनले उपलब्ध गराएको तथ्याँकमा गत फेब्रुअरीको एक महिनामै अमेरिका प्रवेश गर्न खोज्ने करिब एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्रण गर्नु परेको उल्लेख छ । 

आप्रवासीको संख्या दिनहुँ बढ्दै गएका खबरहरु सार्वजनिक भएलगत्तै राष्ट्रपति जो बाइडेनले त्यस्ता आप्रवासीलाई आफ्नो देश नछाड्न आग्रह गर्नु भएको थियो । तर राष्ट्रपति बाइडेनको आग्रहलाई समेत बेवास्ता गर्दै ठूलो संख्यामा आप्रवासीहरु अमेरिकी सीमा क्षेत्रमा ओइरिन थालेपछि अमेरिका र मेक्सिकोबीच वार्ता हुन थालेको छ ।

मेक्सिकोले अमेरिकातर्फ हिँडेका मध्य अमेरिकी आप्रवासीलाई आफ्नो सीमामै रोक्न दक्षिणी सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाएको छ । जनवरी यतामात्र मध्य अमेरिकाबाट मेक्सिकोतर्फ हिँडेका कागजात विहीन ४ हजार १८० बालबालिकालाई नियन्त्रणमा लिइएको थियो ।

ज्याकोब्सन र गोन्जालेज दुबै हाल मेक्सिकोमा हुनुहुन्छ । उहाँहरु आप्रवासीको आप्रवाहलाई व्यवस्थापन गर्ने सम्बन्धमा योजना निर्माणका लागि मेक्सिकोका अधिकारीहरुसँग छलफलमा व्यस्त रहनु भएको छ ।

एसोसिएटेड प्रेसका अनुसार बाइडेन प्रशासनले ट्रम्पले अघि सारेका आप्रवासन नीतिहरुमा फेरबदल गर्न चाहेको छ । ट्रम्पका नीतिहरु आप्रवासी विरोधी हुनुका साथै अमेरिका प्रवेश गर्नेहरुमाथि कडा शर्तहरु राखिएका थिए । 

तर बाइडेन प्रशासनका दुई अधिकारीले मेक्सिकोका विदेश मन्त्रीसँग मानवीय पक्षका साथै मध्य अमेरिकाको विकासका मुद्दाहरुमा छलफल केन्द्रित गर्नु भएको छ । 

मेक्सिकोका विदेश मन्त्री एब्रार्डले आप्रवासनको समस्या सुल्झाउन क्षेत्रीय विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएको छ । उहाँले भन्नुभयो, “यदि हामीले मिलेर कार्य गरेको खण्डमा मेक्सिकोका दक्षिणी छिमेकी मुलुकहरुको भविष्य भिन्न हुनेछ, सम्भावना बढ्नेछ । कोही पनि व्यक्तिले गरिबी, असुरक्षा र निराशाका कारण आफ्नो देश छाड्नुपर्ने छैन ।”

अमेरिकामा खासगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट हालैका वर्षहरुमा ठूलो संख्यामा आप्रवासीहरु प्रवेश गर्ने गर्दछन् । यी मुलुकमा व्याप्त भ्रष्टाचार र हिंसाका साथै हालै आएका ठूल्ठुला समुद्री आँधीले यहाँको जनजीवन अति दयनीय बनेको छ । 

आप्रवासनले मानवीय सङ्कटको स्वरुप लिएसँगै ट्रम्प प्रशासनले सन् २०१९ मा मेक्सिकोमाथि दबाब सिर्जना गरेपछि राष्ट्रिय सेनालाई नै सीमामा सेना परिचालन गरेको थियो । आप्रवासनमाथि नियन्त्रण गर्न प्रभावकारी कदम नचाले मेक्सिकोबाट अमेरिकातर्फ हुने आयातमा करवृद्धि गर्ने चेतावनी ट्रम्पले दिनु भएको थियो ।

तर बाइडेन प्रशासनले हाल कुटनीतिक विधिलाई बढी प्रयोगमा ल्याउन चाहेको छ, तर यसमा पनि मेक्सिकोको सहयोग अपरिहार्य हुनेछ । आप्रवासीको मुद्दालाई सम्बोधन गर्न भन्दै बाइडेन प्रशासनले ४ अर्ब डलर विकास सहायता यस क्षेत्रका मुलुकलाई उपलब्ध गराउने बताएको छ । 

अमेरिकी प्रतिनिधिमण्डलले बुधबार ग्वाटेमालाका अधिकारीहरुसँग पनि बैठक गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।एएफपी–एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ