२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

२०८०, १२ जेष्ठ शुक्रबार ०८:३४

जेठ १२, काठमाडौँ | नारायण ढुङ्गाना | राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो । अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने सुरु नभएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ । 

नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ । 

बहुप्रतिक्षित उक्त सुरुङमार्गको दुई टनेलमध्ये मुख्य टनेल छ सय मिटर सुरुङमार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् ‘रेस्क्यु’ (इभ्याकुएसन) टनेल दुई सय १० मिटर जोडिन बाँकी छ । पहिलो चरणमा दुई सय मिटर ‘ब्रेक थ्रु’ गर्ने र मुख्य टनेल दसैँ आसपासमा ‘ब्रेक थ्रु’ गर्ने गरी काम अगाडि बढाइएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्टका इञ्जिनियर रमेश कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्ने खोलाबाट सुरु भएको उक्त सुरुङमार्गको लम्बाइ दुई हजार छ सय ८० मिटर छ ।


“सिस्ने खोलाको प्रवेश विन्दुबाट ९१ मिटर माथि निस्किन्छ । टनेल सिधा नभएर थोरै कर्प (घुमाएर) बनाइएको छ । यहाँ दुई वटा टनेल निर्माण भइरहेका छन् । एउटा गाडी सञ्चालनका लागि बनाइएको हो”, इञ्जिनियर कोइरालाले भन्नुभयो । उहाँका अनुसार टनेलभित्र कुनै घटना भयो भने रेस्क्यु गर्नका लागि ३० मिटरको दूरीमा रहने गरी साइडमा अर्काे टनेल बनाइएको छ । “त्यो रेस्स्क्यु (इभ्याकुएसन) टनेल हो । हरेक तीन सय ७५ मिटरमा दुई टनेल जोडिन्छ । उक्त टनेल दुर्घटना वा अन्य आकस्मिक कामका लागि प्रयोग गरिन्छ”, उहाँले भन्नुभयो । 

सात ठाउँँमा दुई टनेलको जडान गरिने इञ्जिनियर कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्य टनेलको चौडाइ सामान्यतया साँढे नौ मिटर र कुनैकुनै ठाउँमा १३ मिटरसम्मको हुन्छ । रेस्क्यु (इभयाकुएसन) टनेल साढे चार मिटरको रहने उहाँको भनाइ थियो ।

इञ्जिनियर कोइरालाले टनेलबाहेक यस ठाउँमा आउने रोड सर्भ स्टेशन (मुख्य तल्लो प्रवेश विन्दु) मा चार लेनको सडक टनेलमा प्रवेश गर्ने बताउनुभयो । सिस्ने खोलाबाट प्रवेश गरेका यातायातका साधन माथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा नै मिसिने गरी सडक निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । “त्यसलाई ‘एप्रोच रोड’ भनिन्छ । यसको लम्बाइ साढे दुई  किलोमिटरको हुन्छ”, इञ्जिनियर कोइरालाले भन्नुभयो । टनेल निर्माणका क्रममा निस्किएका निर्माण सामग्री प्रयोग गरेर रोड बनाइरहेकाले टनेलसँगै रोडको काम पनि सँगै सम्पन्न हुने उहाँको भनाइ थियो ।

‘एप्रोच रोड’ र टनेल निर्माणका क्रममा आउने मुख्य समस्या तल्लो प्रवेशविन्दु नजिकको पहिरो भएको भन्दै इञ्जिनियर कोइरालाले पहिरो नियन्त्रणका लागि काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले सावधानीपूर्वक समन्वयात्मकरुपमा समस्या समाधान गरी काम अघि बढाइएको बताउनुभयो ।

आजमात्रै यहाँका अनुगमन गर्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रमा गाडी हिँड्ने गरी कामलाई तीव्रता दिनुपर्ने भन्दै निर्माणका क्रममा आउने सबै समस्या र अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउने बताउनुभयो । उहाँले एक वर्षमा गाडी नै हिँड्ने गरी निर्माण भइरहेको बताए पनि सुरुङमार्ग निर्माण सम्पन्न हुन अझै डेढदेखि दुई वर्ष लाग्ने आयोजनाका अधिकारीहरुले बताएका छन् । 

यस्तो छ प्रगति 

निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ । मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ । टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ । 

“टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ । भित्र २४सै घण्टा लाइट र पावर चाहिन्छ । त्यसका लागि पनि काम गर्नुपर्छ । त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ”, आयोजनाका कन्सल्ट्यान्ट इञ्जिनियर रमेश कोइरालाले भन्नुभयो । कोरोनाका कारण एक वर्ष समय थप भइ आगामी अप्रिल २६ सम्मका लागि समय निर्धारण गरिएको छ । 

कहिलेदेखि सुरु भयो सुरुङमार्ग निर्माण

नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ देखि सुरु भएको थियो । ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ देखि निर्माण सुरु भएको थियो । आयोजना निर्माणका लागि रू २२ अर्ब लाग्ने बताइएको छ । जम्मा खर्चमध्ये रू १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ । सन् २०१९ मा निर्माण सुरु भई ४२ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा