
काठमाडौँ | वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका–९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ का ३३ वर्षीय रोशन गोले र सिन्धुलीको मरिण गाउँपालिका–२ का ४६ वर्षीय लीलाबहादुर गरंजा रहेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इटनीले दुई जनाबाट १० लाख ९५ हजार रुपैयाँ, सोनीले एक जनाबाट पाँच लाख ३० हजार रुपैयाँ, गोलेले दुई जनाबाट दुई लाख ५० हजार रुपैयाँ र गरंजाले दुई जनाबाट पाँच लाख ५० हजार रुपैयाँ लिएका थिए । वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।