काठमाडौँ | पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनामा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय तथा आवास भवन र बुढीगण्डकी नदीमाथि निर्माण हुने स्थायी पक्की पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले आयोजना निर्माणका लागि सरकारका तर्फबाट आर्थिक समस्या आउन नदिने बताएका हुन् । उनले आयोजनाका लागि बजेट सुनिश्चित गर्नु सरकारको प्रमुख प्रतिबद्धता रहेको स्पष्ट पारे ।
आयोजना व्यवस्थापनलाई आवश्यक खर्च गर्न आग्रह गर्दै उनले भने, “बुढीगण्डकी बहुउद्देश्यीय प्रोजेक्टमा बजेट अभाव हुँदैन, यो सरकारको प्रतिबद्धता हो । आयोजनाले जति खर्च गर्छ, खर्च गरोस्, हामी आर्थिक अभाव हुन दिँदैनौँ ।”
मन्त्री लम्सालले राष्ट्रिय गौरवको यो परियोजना सफल हुने र निर्धारित समयसीमाभित्रै सम्पन्न हुने विश्वाससमेत व्यक्त गरे । उनले गत असोजमा गएको विपद् र त्यसपछिको पुनर्निर्माण कार्यमा सरकारको वर्तमान अवस्था तथा चालिएका कदमबारे पनि जानकारी गराए ।