१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दुग्ध उद्योग स्थापनापछि बजार व्यवस्थापनमा सहज

१९ जेष्ठ २०८०, शुक्रबार ०८:४०

जेठ १९, हेटौँडा | मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा–३ मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ । 

दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् । उद्योगमा दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन भइरहेको छ । दैनिक दुई हजार लिटर दूधको छुर्पी, पनिर, घ्यू, बटर, दही उत्पादन गर्दै आएको उद्योगले जनाएको छ । यस उद्योगबाट दैनिक १३ केजी छुर्पी, ७० केजी बटर, मागअनुसार घ्यू, एक सय लिटर दही, दुई सय लिटर दूधको पनिर उत्पादन गर्ने गरिएको दुग्ध प्रशोधन उद्योगका प्रमुख अनिश पोख्रेलले जानकारी दिनुभयो ।


बिहानै गाउँ वरिपरिका किसान दूधका साना र ठूला क्यान बोकेर सहकारीमा दूध बिक्री गर्न आउँछन् । अहिले यो उनीहरुको दैनिकी नै बनेको छ । सहकारी संस्थामा बिहान झिसमिसेदेखि नै कर्मचारी काममा व्यस्त देखिन्छन् । कोही दूध जोखेर खरिद गर्ने स्थानमा हुन्छन् भने कोही दुग्ध प्रशोधन उद्योगमा काम गरिरहेका हुन्छन् । यहाँ पुग्दा सबैलाई बिहानैदेखि कामको निकै चटारो भएको देख्न सकिन्छ ।  

उद्योगमा दही, घ्यू, पनिर, छुर्पी उत्पादनका लागि दूध प्रशोधन गर्ने काम भइरहने सहकारीका व्यवस्थापक शशी लम्सालले बताउनुभयो । यहाँबाट प्रशोधन गरिएको दूधजन्य उत्पादनको बिक्रीमा समस्या नरहेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई’ हेटौँडाको ५० प्रतिशत अनुदान सहयोगमा दुग्ध प्रशोधन उद्योग स्थापनाका लागि काम सुरु गरिएको थियो । सहकारीलाई नै उद्योगका रूपमा सञ्चालन गर्ने गरी विसं २०७८ माघ २७ गते उद्योग दर्ता गरी विसं २०७९ पुस १३ गतेबाट भवन निर्माणलगायत काम सकेर सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।

भवन निर्माण र उद्योगमा व्यवस्थापनका लागि एकाइबाट रू एक करोड सहयोग लिएर काम थालिएको भन्दै थप रू डेढ करोड लगानी गरेर दूध प्रशोधनका लागि आवश्यक सामाग्रीको व्यवस्था गरिएको दुग्ध सहकारीका अध्यक्ष अर्जुन दाहालले जानकारी दिनुभयो । “एक हजार लिटर क्षमताको दुग्ध प्रशोधन उद्योग तथा भवनका लागि अनुदान लिएर काम थालिएको हो”, उहाँले भन्नुभयो ।

सुरुआती दिनमा यस सहकारीले दूध चिस्याउने काम गरेर बिक्री गर्दै आएको थियो भने हाल दुग्धजन्य पदार्थ उत्पादन गरेर गाउँबाट नै उत्पादन गरी सहरसम्म बिक्री गरिरहेको अध्यक्ष दाहालले बताउनुभयो । उद्योग स्थापनाले यहाँका युवालाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनलाई ठूला सहरमा बिक्री गर्ने वातावरणसमेत बनेको उहाँको भनाइ थियो ।

उद्योगमा उत्पादन भएका सामग्री हेटौँडा, काठमाडौँ, पोखरालगायत सहरमा बिक्री गर्ने गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक यस क्षेत्रका चार सय ५१ किसानले सहकारीमा दूध बिक्री गर्दै आएका छन् । “सहकारीमा तीन सय ४८ जना शेयर सदस्य छन् । यहाँ दूध प्रशोधन तथा दूध खरिद बिक्रीलगायत क्षेत्रमा गरी १३ जनाले रोजगारीसमेत पाएका छन्”, उहाँले भन्नुभयो । जिल्लामा रहेका दुग्ध सहकारी संस्थामध्ये मनकामना उत्कृष्ट संस्थाका रूपमा पुरस्कृत भएको अध्यक्ष दाहालको भनाइ थियो ।

सहकारी संस्थालाई उद्योगका रुपमा अगाडि बढाउन मनकामना दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराइएको विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौँडाका आयोजना समन्वय प्रमुख डा विदुरप्रसाद गौतमले बताउनुभयो । सहकारीमा किसान तथा बैंककोसमेत लगानी भएकाले प्रत्यक्षरुपमा सबैलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योग स्थापनाका लागि सहयोग गरिएको उहाँले बताउनुभयो । “किसानको दूध बिक्री भएन भन्ने समस्या पनि हट्ने र सहकारीलाई पनि उत्पादन गर्ने उद्योगका रुपमा विकास गर्न सकिने भएकाले आर्थिक सहयोग गरेका हौँ”, उहाँले भन्नुभयो । 

पहिले दूध बिक्री नहुने समस्याका कारण ‘मिल्क होलिडे’को मार भोगेका यहाँका किसान उद्योग स्थापनापछि दूध बिक्री नहुने समस्या हटेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट