भदौ २२, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादीमा अहिले देखिएको चार समस्या औंल्याएका छन् । माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले ललितपुर महानगरमा आयोजित पार्टीको भेलालाई सम्बोधनको क्रममा पार्टीमा भ्रष्टीकरण बढेको स्वीकारेका हुन् ।
उनले अन्य पार्टीभन्दा माओवादी फरक भएपछि पछिल्लो सयम पार्टी विधि, पद्धतिमा र विधान अनुकूल सामूहिक निर्णयबाट चल्न छाडेको गुनासो गरे । उनले पार्टीका नेताहरुको कुनै व्यापार व्यवसाय नभए पनि आलिशान जीवनशैलीले प्रश्न उठेको बताए ।
पार्टी रुपान्तरणको लागि जतनासँग माओवादी अभियान चलाइरहेको बेलामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसरी औंल्याए पार्टीको चार समस्याः
- पहिला पार्टीमा आदर्श, विचार, सिद्धान्त, रणनीति र कार्यनीतिको कुरा हुन्थ्यो । त्यसको आधारमा हामी अघि बढ्थ्यौं । अहिले सतही कुरा हुन्छ । विचार, सिद्धान्त धेरै उपेक्षित भएको छ । कसैलाई मतलब नै छैन । विचारका उज्यालो र सिद्धान्तको मार्गनिर्देशनअनुसार लामो समयसम्म क्रान्तिकारी अगाडि बढ्न सक्दैनन् । अहिले हामीमा अध्ययन पनि छैन । वैचारिक छलफल, सिद्धान्तको कुरा पनि छैन । अहिले नयाँ मान्छे पनि पार्टीमा छैन । त्यसकारण हाम्रो दृष्टिकोण, विचार, सिद्धान्तको कुरा सही छ । त्यसलाई विकास गरेरमात्रै नेपाललाई बनाउन सक्छौं भन्ने कुरामा ध्यान जान छाड्यो । हाम्रो विचलन त्यहाँ भएको छ ।
- पार्टी संगठनलाई विधि र पद्धतिमा चलाउनुपर्यो । विधान अनुकूल सामूहिक चलाउनुपर्यो । गुटबन्दी, व्यक्तिवादी व्यवहार गर्नुभएन । विधि सम्मत ढंगले सामूहिक र संस्थागत ढंगले पार्टी चलाउनुपर्यो र कार्यकर्ताको न्यायोचित मूल्यांकन गर्नुपर्यो । निष्ठावान, सैद्धान्तिक र जनताको सेवा गर्छन्, जो भ्रष्टाचार गर्दैन, तिनलाई मुख्य जिम्मेवारी दिनुपर्छ । हाम्रो त्यहाँ पनि कमजोरी हुन थालेको छ । विधि, पद्धति नमान्ने । कोही अराजक छन्, कोही पद पाएपछि मै सर्वेसर्वा हो भन्ठानेर नोकरशाही छन् ।
- अहिले पार्टीमा भ्रष्टीकरण बढेर गएको छ । आफ्नो पैतृक सम्पति त्यति देखिएको छैन । पार्टीले पैसा पनि दिएको छैन । दिनसक्ने हालत पनि छैन । हाम्रो केही पनि नभएका पूर्णकालीन कार्यकर्तालाई बचाउन सहयोग गर्न सकेको छैन । सुख र विलाशी जीवन बिताउन पार्टीले कसैलाई पैसा त दिएको छैन । काम गरेको, कुनै उद्योग, व्यवसाय गरेको पनि देखिँदैन । तर पनि आलिसान भवनमा कसरी बसिरहेका छन् भन्ने प्रश्न उठेको छ । त्यसकारण हाम्रो पनि भ्रष्टीकरण बढ्दै गएको छ । यो सत्य हो, लुकाएर हुँदैन । यसलाई सच्याउनुपर्छ ।
- जनतासँग हाम्रो सम्बन्ध कमजोर भएर गएको छ । पहिलाको मजदुर, किसान, दलित, गरिब, सुकुमबासी, जनजातिहरुसँग सम्बन्ध राख्थ्यौं । उनीहरुका मुद्दा उठाउँथ्यौं । उनीहरुको हक अधिकारप्रति बोल्थ्यौं । उनीहरुको घरमा बस्थ्यौं, जान्थ्यौं, छलफल गर्थ्यौं । हो, अहिले संघर्षको स्वरुप परिवर्तन भएकाले संसदमा जानुछ । सरकार चलाउनुछ । त्यो काम त बढेकै छ, अलिक फरक मोर्चाको काम । तर, त्यसो भनेको जनतासँगको सम्बन्ध छाड्दिने भनेको हो ? त्यो भनेको दलाल नोकरशाही, पूँजीपतिसँग सम्बन्ध बढाउने, उसैसँग मात्रै उठबस गर्ने, ठेकेदार, व्यापारी, अलिकति पैसा भएकै मान्छेसँग मात्रै सम्बन्ध राखेर आफ्नो जीवन चलाउने अनि जनता र कार्यकर्तालाई चासो नदिने भन्या हो र ? होइन नि ! त्यहाँ पनि हाम्रो कमजोरी हुन थाल्यो ।