भदौ २८, काठमाडौं | नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो। दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।
एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ ।
नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।
एमालेले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।