असोज २१, काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा फसेका नेपालीहरूको उद्दारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले इजरायल-गाजा आक्रमणको चपेटामा परेका नेपालीहरूको तत्काल उद्दारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले त्यहाँका समकक्षीसँग तत्काल संवाद अघि बढाउनुपर्ने बताए।
उनले भने,'सरकारले एउटा विज्ञप्ति जारी गरेर पुग्दैन,संसदमा जानकारी गराएर हुँदैन। देशको प्रधानमन्त्रीले त्यहाँका समकक्षी बेन्जामिन नेतान्यूसँग नेपालीको सुरक्षा र उद्दारका लागि संवाद गर्नुपर्छ।'
उनले नागरिकको अभिभावक सरकार रहेको भन्दै आपत परेको बेला सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए। एमाले सांसद गिरीले नेपाली जनताको उद्दारका लागि यूएन महासभाको बैठकमा कुरा उठाउनुपर्ने बताए। उनले भने,'अहिले युएनको बैठक चलिरहेका छन्। बैठकमा नेपाली जनताको रक्षा,उद्दार र सहयोगका लागि ध्यानाकर्षण गराउनुपर्यो। नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवन रक्षाका लागि लाग्नुपर्यो।'
उनले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको लागि छिमेकी मित्र राष्ट्रहरूसँग समन्वय गरेर नेपाल ल्याउनका लागि प्रबन्ध गर्नुपर्नेमा जोड दिए। रोजगारीको शिलशिलामा हजारौँ र अध्ययन गर्न सयौँको संख्यामा नेपालीहरू इजरायल पुगेका भन्दै उनले उनीहरूले आफ्नो जीवन रक्षाका लागि गरेको अपिलमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।