२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वायुमण्डलमा ‘लो प्रेसर एरिया’ले मनसुन बाहिरिन ढिला, दसैँमा पानी पर्छ ?

२५ आश्विन २०८०, बिहीबार १२:२२

असोज २५, काठमाडौँ | यो वर्षको मनसुन नेपालबाट बाहिरिन सुरु भएको सात दिन भइसकेको छ । असोज १९ गते सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु गरेको थियो । 

कर्णालीको सम्पूर्ण र लुम्बिनीको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार (हिजो) बाहिरिएको छ ।

गण्डकी प्रदेशकै पूर्वी भू–भाग र वाग्मती, मधेस र कोसी प्रदेशमा अझै मनसुन सक्रिय छ । अक्टोबर २ नेपालबाट मनसुन बाहिरिने औसत मिति हो । यो वर्ष औसत मितिभन्दा १० दिन बितिसके पनि मनसुन बाहिरिइसकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै पूर्ण रूपमा मनसुन बहिर्गमनका लागि केही दिन लाग्नेछ ।


मध्य र पूर्वी नेपालमा अहिले पनि वर्षा भइरहेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत २४ घण्टामा कोसी प्रदेशको एक ठाउँमा ५० मिलिमिटर वर्षा मापन गरिएको छ । अझै केही दिन वर्षा हुने देखिएको उनको भनाइ छ ।

मनसुन बाहिरिने औसत मिति नजिकिरहेका बेला अघिल्लो साता देशका धेरै स्थानमा दुई/तीन दिनसम्म लगातार वर्षा भयो । काठमाडौं उपत्यकालगायत केही भू–भागमा झरी नै पर्‍यो ।

मनसुनी प्रणाली सकिने बेलामा विकास भएको ‘लो प्रेसर एरिया’ले पानी पारेको मौसमविद् मानन्धरले बताइन्। “मनसुन बाहिरिने बेलामा वायुमण्डलमा लो प्रेसर एरिया विकास हुन पुग्यो । यसले गर्दा यो वर्ष मनसुन बाहिरिन ढिलो भयो,” उनले भनिन्, “यसको असर अहिले पनि हल्का रूपमा परिरहेको छ । त्यसैले मध्य तथा पूर्वी नेपालमा वर्षा भइरहेको छ ।”

लो प्रेसर एरियाकै प्रभावले यो वर्षा मनसुन बाहिरिन ढिलाइ भएको उनले बताइन् । यसकै कारण पश्चिमबाट पूर्वतर्फ मनसुनी प्रणाली बाहिरिने क्रममा सर्ने गति सुस्त देखिएको उनले जानकारी दिइन् । लो प्रेसर एरियाको यही गति रहिरहे मनसुन बाहिरिन अझै केही दिन लाग्ने उनको भनाइ छ ।

यद्यपि, यो सामान्य प्रक्रिया भएको मौसमविद् मानन्धरले बताइन् । “कुनै वर्ष मनसुनी प्रणाली बाहिरिन लामो समय लाग्छ, कुनै वर्ष चाँडै पनि हुन्छ । बहिर्गमनको सवालमा मात्रै होइन, मनसुन भित्रिँदा पनि यस्तै हुने हो,” उनले भनिन्, “कुनै वर्ष मनसुन भित्रिएको अर्को दिन नै पूर्वबाट पश्चिम फैलिन सक्छ । तर, कुनै वर्ष पूर्वबाट भित्रिएको मनसुन सुदूरपश्चिमसम्म पुग्न ८/१० दिन पनि लाग्छ । बाहिरिन पनि त्यस्तै हो ।”

मनसुन बाहिरिएपछि पानी पर्दैन ?

मनसुन बाहिरिए पनि पानी नपर्ने भन्ने हुँदैन । नेपाली भू–भागबाट पूर्ण रूपमा मनसुन बाहिरिए पनि पानी पर्ने उनले बताइन् । पश्चिमी वायुको असरका कारण जुनसुकै बेला वर्षा हुन सक्ने उनले सुनाइन् ।

“वेस्टर्न डिस्टर्वेन्सका कारण सुदूरपश्चिम र पश्चिम नेपालमा मनसुन बाहिरिएपछि पानी पर्न सक्छ । यो यसअघि पनि भएको थियो । र, आगामी दिनमा पनि हुनसक्छ,” उनले भनिन् “मनसुन बाहिरिँदैमा पानी पर्दैन भन्ने हुँदैन ।”

दसैँमा पानी पर्छ ?

मनसुन बाहिरिएपछि केही समय ‘पोस्ट मनसुन’को सिजन रहन्छ । अक्टोबर र नोभेम्बर दुई महिनालाई पोस्ट मनसुन मानिन्छ । यो समयमा पनि वर्षाको सम्भावना रहने मौसमविद् सुदर्शन हुमागाईंले बताए ।

“पोस्ट मनसुनमा पनि पानी पर्ने सम्भावना हुन्छ,” उनले भने ।

दसैँ पोस्ट मनसुनको अवधिभित्र पर्ने भएकाले यो समयमा पानी पर्ने सम्भावनालाई नकार्न नसकिने मौसमविद् बताउँछन् । मनसुन बाहिरिएपछि मुख्यतः दुई प्रणाली विकास भएर पानी पर्ने सम्भावना हुन्छ । पहिलो, पश्चिमी वायुको प्रभाव र दोस्रो, बंगालको खाडीबाट बन्ने चक्रवातबाट विकास हुने प्रणालीले वर्षा गराउने सम्भावना रहने मौसमविद् राजु प्रधानाङ्गले बताए ।

तर, मनसुन बाहिरिएपछि विकास हुने पश्चिमी वायुको प्रभाव निकै कमजोर हुने उनले उल्लेख गरे । यसको प्रभाव जति कमजोर हुन्छ, पानी पर्ने सम्भावना त्यति नै कम हुने उनले बताए । बंगालको खाडीबाट आउने चक्रवातले पनि वर्षा गराउने तर यो सधैँ र लामो समय नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा