कार्तिक १६, काठमाडौँ | सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको छ । पत्नी भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले उक्त फैसला गरेको हो ।
ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा रिटको सुनुवाइ भएको थियो ।
साथै उनलाई तत्काल पक्राउ गर्न आदेश समेत दिएको छ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो ।
आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ । यसैगरि, सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न आग्रह गरिएको छ ।
चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो । अदालतले रिट निवेदनमा उठाइएका कानूनी जटिलता र महत्वको विचार गर्दै पूर्ण इजलासमा पेश गर्न र यसलाई अग्राधिकार दिएर आजका लागि गते सुनुवाइको लागि पेशी चढाउनसमेत शर्तसहित आदेश दिएको थियो ।
न्यायाधीश शर्माले रिगल ढकालसँग जोडिएका सबै फैसला, निर्णयसहितको सक्कल मिसिलहरुसमेत मगाएका थिए । अदालतले सो निवेदनलाई गम्भीर रूपमा लिएर महान्यायाधिवक्ता स्वयंलाई बहसमा उपस्थित हुनसमेत आदेश दिएको थियो । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।
२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भारती अनसनसमेत बसेकी थिइन् ।