कार्तिक २२, काठमाडौँ | विवाहमा दाइजो लिएको र थप दाइजो माग्दै श्रीमतीलाई यातना दिएको आरोपमा ललितपुरमा एक युवक पक्राउ परेका छन्।
पेसाले इन्जिनियर रहेका ३१ वर्षीय सुमितकुमार गुप्तालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।
धनुषाको जनकपुर– ४ घर भई ललितपुर–२ सानेपा बस्ने गुप्ताले २१ मंसिर २०७९ मा बाराकी पुनमकुमारी गुप्तासँग विवाह गरेका थिए। विवाहको समयमा नै उनले २१ लाख रुपैयाँ दाइजो लिएका थिए।
पछि पटक–पटक गरी नौ लाखबराबरका सामान लिएका थिए। त्यसपछि पनि थप दाइजो माग्दै उनले श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको उजुरीका आधारमा सुमितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले बताए।
सुमितकी आमा सुशीलादेवी गुप्ताले समेत यातना दिएको उजुरी परेको छ। उनी भने फरार छिन्। यो घटनामा विवाहमा लेनदेन गर्न नहुने (दाइजो)सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको एसपी कार्कीले बताए।