मङ्सिर ७, काठमाडौं | दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले आज गर्ने प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
दुई समूहले आज एकै समय काठमाडौँको तिनकुनेमा एमाले आवद्ध २३ सङ्गठनहरू र बल्खु क्षेत्रमा मेडिकल व्यवसायी प्रसाईँले अहिले साढे १० बजे भेला गर्ने र त्यसमा हुन सक्ने घुसपैठलाई ध्यानमा राखी उपत्यकाका तीन वटै जिल्लाका सुरक्षा व्यवस्था कडा बनाइएको हो।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कुराकानी गर्दै दुबै पक्षको भेलामा हुन सक्ने घुसपैठ र त्यसबाट निम्तिन सक्ने अवस्थालाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा बनाइएको बताए।
उनले दुबै पक्षले शान्तिपूर्ण ढङ्गबाट भेला सम्पन्न गर्ने प्रतिवद्धता जनाएको र दुबै समूहको भेट नहुने गरी रुट छुट्याइएको बताए।
प्रमुख जिल्ला अधिकारी बस्नेतले शान्तिपूर्ण रुपले भेला सम्पन्न गर्ने बताएको हुँदा दुबै पक्षबाट अराजकता निम्तिने कुनैपनि काम भएमा तत्काल एक्सनमा जाने र आवश्यक कारबाही गरिने चेतावनी समेत दिए।
भेलालाई ध्यानमा राखी दुबै प्रदर्शन स्थल र सम्भावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको भन्दै उनले सडकमा स्ट्राइकिङ फोर्स, रिजर्भ टोली, मोबाइल टोली तम्तयार अवस्थामा राखेको पनि जानकारी दिए।
यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आजको प्रदर्शनमा अप्रिय घटना हुनसक्ने सूचनाको आधारमा सुरक्षा सतर्कता अपनाइएको बताए।
उनले दुई समूहबीच हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखी र भेलामा घुसपैठको सम्भावना रहेको हुँदा कुनैपनि जनधनको क्षति हुन नदिन तथा अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता अपनाइएको बताए।
यसैबीच, भक्तपुरमा दुबै समूहको भेलालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले दुबै समूहको भेला एकै समय हुने भएकाले भक्तपुरबाट निस्कने जुलुशलाई ध्यानमा राखी सुरक्षा सतर्कता कडा बनाइएको बताइन्।
उनले युवा संघका कार्यकर्ताहरू सल्लाघारीमा भेला भएर तिनकुने तर्फ जाने र दुर्गा प्रसाईँ निकटका मानिसहरू सानोठिमीस्थित चौरमा भेला भएर बल्खु तर्फ जाने हुँदा केही समय सडक यातायात प्रभावित हुने पनि बताइन्।